धनगढी : बाढी र नदि कटानीका कारण कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ शिवरत्नपुरका १५ परिवार बिस्थापित भएका छन् । नदि कटान बढेसंगै बस्ती डुवानमा परेपछि शिवरत्नपुरका १५ परिवार बिस्थापित भएका हुन् । नदि कटान रोक्न दीर्घकालिन योजना नबन्दा बर्षेनी बर्खा लागेसंगै यो गाउँका नागरिकले खुला चउरमा बास बस्नुपर्ने बाध्यता छ । नदिका कारण बस्तीनै बगाउने खतरा बढेपछि शुरक्षित बसोबासका लागी उनिहरुले माग राखेका छन् ।
कैलारी गाउँपालिका वडा नम्बर ३ स्थित मोहना पारीको शिवरत्नपुर गाउँ, यस गाउँमा करिब ८० घर परिवारको बसोबास छ । मोहना पारी भारतसंग सिमा जोडिएको यो गाउँ बर्षौँदेखी बिभिन्न अधिकारबाट त बञ्चितनै थियो झन नदी कटानले गाउँनै बगाउने जोखिम बढेपछि उनिहरु बिचल्लीमा छन् । थोरै बर्षातमैपनि सो गाउँका १५ परिवार बिस्थापित भएका छन् । नदीले धार परिवर्तन गरेर गाउँमै पस्न थालेपछि उनिहरु बिस्थापित भएका हुन् ।
गाउँमा नदि पसेर घर डुवान परेपछि बिस्थापित भएर मैदानमा त्रिपाल टाँगेर बसेकी हिरा चौधरी बर्षेनी आउने बाढीका कारण शुरक्षित ठाउँ सर्नुपर्ने बाध्यता रहेको बताइन् । हाम्रो पिडा सँधैको हो बिगतमा यशरी नदि गाउँमै पुगेको थिएन उनले भनिन् “गत बर्षको बाढीले नदी धेरै कटान भयो पुरै नदि कटान भएपछि गाउँमा नदी छिर्न थालिसक्यो अस्थी एक दिनको पानीलेनै हाम्रो घरमा नदि पस्न थालेपछि हामी यो मैदानमा सरेका हौँ ।”
हामीलाई धेरै समस्या छ एकातिर नदीको समस्या त अर्कोतिर खान लाउन समस्या उनले भनिन् “हामीहरुलाई कतै शुरक्षित ठाउँमा सारिदिए ढुक्क भइन्थ्यो बर्षेनी यस्तो पिडाबाट मुक्त भइन्थ्यो ।” सोही गाउँकै अनुजा चौधरीपनि नदी गाउँमा आएपछि बिस्थापित भएर खाली मैदानमा त्रिपाल टाँगेर बसेकी छिन् । ३ जनाको परिवार भएको उनलाई घरमा नदी पसेपछि घर चलाउनै मुस्किल छ । हाम्रा त केही समाननै बगाइहाल्यो अनी जमिन समेत नदीले बर्षेनी कटान गरेर आधा बगाइसकेको छ कसरी दैनिकि चलाउनु उनले भनिन् “सरकारले हामीलाई तत्कालका लागी राहत उपलब्ध गराएर बैकल्पिक ब्यवस्थापन गरिदिए यस्तो समस्या अन्त हुन्थ्यो, बाढीको समस्या मात्रै नभई शिक्षा, स्वासथ्य लगायतको समस्यापनि अन्त्य हुन्थ्यो ।”
स–साना योजना ल्याउँदै नदीमा तटबन्धन गरेपनि सो तटबन्धन समेत नदिले बगाएको छ । तटबन्धनमा मात्रै सरकारको करिब ५० लाख लगानी खेर गइसकेको छ । सरकारी सेवा देखी दैनिक उपभोग्य सामग्रीका लागी समेत मोहना नदिमा डुगांको भर पर्ने यस गाउँका नागरिक अब नदी गाउँमै पस्न थालेपछि चिन्तित छन् । करिब चार दशक देखी यस गाउँमा बस्दै आएका नागरिकहरु अब तत्काल दीर्घकालिन समाधानको माग गरिरहेका छन् ।
शिवरत्नपुरकै सन्तराम चौधरीको आधा बिगाहा जमिन थियो । घरमा खानका लागी पुग्ने सो जमिनमा लगाएको धान बाली सहित नदीले कटानी गरेर बगाएपछि उनि चिन्तित छन् । नदीले पुरै धार परिवर्तन गरेर किसानका खेत र घर बगाउन लागिसक्यो उनले भने “१० कट्ठा जमिन थियो आधा बगाइहाल्यो यही जमिनमा उब्जेको अन्नले बर्षभरी खान पुग्थ्यो अब यसले भोकमरीपनि निम्त्याउने हो ।”
नदीमा स साना तट्बन्धन गरेर सरकारको बजेट खेर फाल्नुमात्रै हो स्थानिय कमल प्रसाद चौधरीले भने “लाखको बजेटले हुँदैन ठुलो योजना बनाएर यहाँ करोडौँको योजना चाहिन्छ अनी मात्रै गाउँ जोगिन्छ, नत्र यसपालीकै बर्खामा पुरै गाउँ जाने सम्भावना निकै बढी छ ।” बालबालिकाहरुलाई बिद्यालय जान पारीनै जानुपर्छ बर्षातमा तपाइहरुलेनै देखिहाल्नुभयो यस्तो जोखिम मोलेर जानुपर्छ उनले भने “झोलुङ्गे पुल हालेपनि बर्षौँ भइसक्यो निर्माण सम्पन्न हुँदैन हाम्रा दुख जस्ताको त्यस्तै छन् यी दुख बुझेर सरकारले ध्यान दिए हुने थियो ।”
शिवरत्नपुर गाउँनै जोखिममा परेपछि कैलारी गाउँपालिकाले माथिल्लो सरकारसंग ब्यवस्थापनका लागी माग गरेको छ । नदी गाउँ पसेपछि बिस्थापित भएका १५ घर परिवारलाई बासस्थानका लागी मैदानमा त्रिपाल उपलब्ध गराउनुका साथै पानीको ब्यवस्था गाउँपालिकाले गरेको छ । अब यो गाउँलाई शुरक्षित स्थान तर्फ सार्ने या तटबन्धनबाट दीर्घकालिन समाधान गर्ने प्रदेश र संघ सरकार संग सहकार्य गर्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले तत्कालका लागी गाउँपालिकाले ब्यवस्थापन गरिरहेको बताए । अहिलेका लागी त त्रिपाल पानीको ब्यवस्था गरेका छौँ तर दीर्घकालिन समाधानका लागी गाउँपालिकाको बजेटले पुग्दैन उनले भने “यसमा ठुलो बजेट र निति चाहिन्छ यसका लागी प्रदेश या केन्द्रलेनै सक्ने हो म पहलपनि गरिरहेको छु र दुइवटै सरकारलाई आग्रहपनि गर्दछु यो समस्या समाधानका लागी प्रार्थमिकता दिनुहोला ।”
संसदिय टोलीद्वारा अनुगमन

नदी गाउँ पसेपछि घर बिस्थापित भएको क्षेत्र तथा जोखिम क्षेत्रमा सुदूरपश्चिम प्रदेशसभाको बिधायन तथा प्रदेश मामिला समितिको टोली पुगेको छ । गाउँ जोखिममा परेको थाहा पाएपछि समितिको टोलीले अनुगमन गरेको छ । बिधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरी, सदस्यहरु पुर्णा जोशी, लाल बहादूर खड्का, शान्ति नेपाली, मालामती राना, श्यामलाल राना, बिरमान चौधरी लगायतले सो क्षेत्रको अनुगमन गरेका हुन् ।
अनुगम गर्दै समितिले गाउँ जोखिममा रहेको निश्कर्ष निकालेको छ । हामीले सो क्षेत्रमा समस्या छ भनेर थाहा पाइसकेपछि अनुगमनमा गएका हौँ समितिकी सदस्य तथा निबर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले भनिन् “सरकारले यहाँ तत्काल नजर लाउनुपर्ने छ यो अवस्था हुँदासम्म सरकारको उपस्थिती जनाउनुपर्ने हो, कसरी समाधान गर्ने भनेर सरकारले दीर्घकालिन योजना बनाउनुपर्छ ।”
हामीले त्यहाँको अवस्था र समस्या सबै बुझेर आएका छौँ उनले भनिन् “यो समस्या बारे प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जानकारी गराउने र तत्काल राहत उपलब्ध गराई गाउँको दीर्घकालिन समाधान खोज्न निर्देशन दिने छौँ ।”

