कैलाली। कैलाली जिल्लाका ठूला आयोजनाको प्रगति न्यून देखीएको पाइएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रारम्भिक विवरण अनुसार आर्थिक वर्ष २०७८/७९ मा कैलालीका ठूला आयोजनाको वित्तिय प्रगति न्यून रहेको पाइएको हो। कैलाली जिल्लामा विगतदेखि कार्यान्वयनमा रहेका रानीजमरा सिँचाइ आयोजना, संघीय आयोजना कार्यान्वयन इकाइ, स्थानीय विकास पूर्वाधार आयोजना र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम, मोहना पुल–अत्तरिया ६ लेन सडकलगायत ठूलो बजेटका पूर्वाधारका आयोजना हुन् ।
सो आयोजनामा वित्तिय प्रगति भने न्यून देखिएको कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढी कैलालीले जनाएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढी कैलालीका लेखापाल कृष्णप्रसाद आचार्यले रानीजमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत कृषितर्फको कार्यक्रममा ४० लाख वार्षिक बजेट रहेकोमा ४ लाख ९८ हजार मात्र खर्च भएको बताए । स्थानीय पूर्वाधार विकास आयोजनाले ५१ प्रतिशत वित्तीय प्रगति गरेको उल्लेख गरेको छ । १४ करोड ६३ लाख वार्षिक बजेट रहेकोमा उक्त आयोजनाले ७ करोड ४५ लाख मात्र खर्च गर्न सकेको उनको भनाई छ ।
कुल २ अर्ब १४ करोड ८४ लाख १७ हजार बजेट रहेको क्षेत्रीय आयोजना कार्यान्वयन ईकाइले ९५ करोड ९२ लाख खर्च गरेको छ। यस्तै, एक अर्ब ६० करोड वार्षिक बजेट रहेको सहजपुर–बोगटान सडकमा ६५ करोड ९४ लाख मात्र खर्च हुन सकेको छ । २५ करोड बजेट रहेको मोहना पुल–अत्तरिया ६ लेन सडक आयोजनामा १४ करोड १५ लाख खर्च भएको छ ।राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र हुलाकी सडक योजनामा भने तुलनात्मक रूपमा वित्तीय उपलब्धि अन्य आयोजनाभन्दा धेरै छ हुलाकी सडक योजना कार्यालयले भने ९९ प्रतिशत प्रगति रहेको कोष तथा लेखाले जनाएको छ । ५० करोड ५८ लाख वार्षिक बजेट रहेको हुलाकी सडक योजनाले ५० करोड १४ लाख खर्चिंदै सबैभन्दा बढी प्रगति गरेको हो ।
३५ करोड २९ लाख वार्षिक बजेट रहेको राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमले ३० करोड ३५ लाख खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीबाट प्राप्त विवरणमा उल्लेख छ । कोलेनिका कैलालीका अनुसार आर्थिक वर्ष ०७८/७९ मा स्थानीय तह, पूर्वाधार विकासका ठूला आयोजना तथा विभिन्न विषयगत कार्यालयका लागि संघीय सरकारबाट प्राप्त भएको कूल बजेट मध्ये ५ अर्ब ३५ करोडभन्दा बढी खर्च हुन नसकेर फ्रिज भएको छ । कार्यालयका लेखापाल कृष्णप्रसाद आचार्यले भने ‘पूर्ण विवरण अझै आइसकेको छैन । स्थानीय तहले केही ढिलाइ गरेका छन् ।’ प्राप्त विवरण अनुसार आव ०७८/७९ मा कैलालीका विभिन्न कार्यालयहरूमा कुल ३९ अर्ब ६१ करोड ८६ लाख १६ हजार बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये ३४ अर्ब २६ करोड २८ लाख मात्र खर्च हुन सकेको छ । त्यसमा पनि पुँजीगत बजेट खर्चभन्दा चालुतर्फको खर्च अत्यधिक छ ।चालुतर्फ ३० अर्ब २ करोड बजेट रहेकोमा २८ अर्ब २५ करोड खर्च भएको छ । तर कोलेनिका कैलालीले पुँजीगततर्फ विनियोजित कुल ९ अर्ब ५९ करोड ३४ लाखमा ६ अर्ब १२ करोड ७९ लाख खर्च भएको प्रारम्भिक हिसाब आएको जानकारी दिएको छ।