धनगढी : कञ्चनपुर भन्सार कार्यालयले बिस्कुट भनेर पठाएको एक लाख बढीको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । प्रज्ञापनपत्रमा बिस्कुट उल्लेख गरेर कञ्चनपुर भन्सार कार्यालयले पठाएको सो समान बिहिबार सशस्त्र प्रहरीको ब्युरो टोलीले बरामद गरेको हो ।
सशस्त्र प्रहरीको केन्द्रिय ब्युरोको टोलीले भिमदत्त नगरपालिका वडा नम्बर १० बनगाउँ पुलमा दिउँसो ३ बजे सो कपडा बरामद गरेको हो । सशस्त्र प्रहरीका अनुसार बिस्कुट भनेर भन्सार कार्यालयले पठाएको सो पोकामा ५५ पिस साडी र ५८ पिस हाप पाइन्ट फेला परेका हुन् ।
सशस्त्र प्रहरीले बरामद गर्ने बेला बिस्कुटनै उल्लेख भएर आएपनि बरामद पश्चात कार्यालयले सच्याएर प्रज्ञापनपत्र पठाएको समेत पाइएको छ । यो केश मात्रै होइन केही दिनअघी कञ्चनपुर भन्सार कार्यालयबाटै तरकारी भनेर पठाएको पेटीमा अनार स्याउ लगायत फलफुल भटिएको थियो । अत्तरियामा चेकजाँचको क्रममा सशस्त्र प्रहरीले सो समान फेला पारी बरामद गरेको थियो ।
यस बारेमा कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत तथा सुचना अधिकारी प्रमानन्द जोशीले भन्सारबाट बिस्कुट उल्लेख गरी नपठाएको दावी गरे । हामीले कपडानै उल्लेख गरी पठाएका हौँ जोशीले भने “थोरै कपडा थियो सो को राजश्व काटेर पठाएका हौँ तर सो ब्यक्तीले बाटोमा गएर थप कपडा हालेको सुचनापछि सशस्त्र प्रहरीले बरामद गरेर भन्सारमा बुझाई सकेको छ, बिस्कुटका नाममा कपडा हामीले पठाउका छैनौँ ।”


