धनगढी : सुदूरपश्चिम प्रदेशमा ब्यप्त रहेको छाउपडि प्रथा र छुवाछुत अन्यका लागी धनगढीमा धामी झाँक्री सम्मेलन आयोजना गरिएको छ । सुदूरपश्चिमका ३ जिल्ला र मुगुबाट करिब ३५ जना धामी झाँक्री तथा स्थानिय तहका उप प्रमुखको सहभागितामा धामी झाँक्रीको सम्मेलन शुरु भएको हो । सम्मेलनले देवी देउताका नाममा हुने छुवाछुत अन्त्य हुने अपेक्षा लिइएको छ । सम्मेलनबाट सिकेको पाठ गाउँमा कार्यान्वयन गर्ने धामी झाँक्रीको भनाई छ ।
देवी देउता रिशाउने नाममा सुदूरपश्चिम तथा कर्णाली लगायतका प्रदेशहरुमा छाउपडि प्रथा अहिलेपनि कायमै छ । बिगतका तुलनामा केही कमी आएपनि छाउपडि प्रथा उन्मुलन हुन सकेको छैन । महिनावारी भएका बेला छाउ गोठमा राख्ने परम्पराकै कारण कयौँ महिलाहरुले बलत्कृत हुनुपरेको छ भने, सर्पको टोकाइबाटै ज्यान गुमाउनु परेको छ । देवी देवता रिशाउँछन भन्ने रुढिवादी परम्पराका कारण अँझै छाउपडी प्रथा उन्मुलन हुन नसकेपछि डोटी, अछाम, बाजुरा र मुगुका धामी झाँक्रीहरुको सहभागितामा धनगढीमा सम्मेलन शुरु भएको छ ।
गुड नेबर्स नेपालको आयोजनामा भएको सम्मेलनमा सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्य मन्त्री टेक बहादूर रैकाले समाजमा रहेको रुढीवादी परम्पराको अन्त्य नभएसम्म छाउप्रथामा (महिनावारी) परिर्वतन नहुने बताएका छन् । धर्मका विभिन्न गथ्रहरुमा कहि पनि उल्लेख नभएको कुरालाई समाजले प्रश्रय दिईरहेको उनको भनाई रहेको छ । धामी–झाँक्रीको विश्वास धेरैमा हुने हुँदा सहि सन्देश मात्र प्रवाह गर्न आवश्यक रहेको रैकाले बताए । महिलाहरुको सुरक्षाका लागि महिनावारी भएको समयमा सफा र सुरक्षित ठाउँमा राख्नुपर्ने कुरलाई गलत बुझाई हुँदा समस्या हुने गरेको मन्त्री रैकाले बताए । उनले छाउप्रथा अन्त्यका लागि प्रदेश सरकार गम्भिर रहेको बताए ।
सम्मेलनमा सहभागी धामी झाँक्रीहरुले यो सम्मेलनबाट ठुलो पाठ सिकिने अपेक्षा राखेका छन् । बिगतको तुलनामा छाउपडी प्रथामा केही कमी आएपनि हालसम्म निर्मुलन हुन नसकेको धामी झाँक्रीहरुको भनाई छ । देवी देवता रिशाउने भन्दापनि मानिसले बनाएको परम्परा तोड्ने काममा लाग्नुपर्नेमा सहभागी धामी झाँक्रीको बनाई छ ।
सम्मेलनमा सहभागी बाजुराका धामी बिर बहादूर बोहराले बिगतको तुलनामा छुवाछुतमा कमी आएको बताए । बिगतमा धेरै मान्ने गर्थे अहिले कम छ बोहराले भने “हामी सक्दो शुरक्षित महिनावारीमा केन्द्रित छौँ यो कसरी सकिन्छ यहाँको सम्मेलनमा सिकेका कुरा गाउँका धामीहरुलाइपनि सचेतना दिनेछौँ ।”
यस्तै बाजुराकै धामी देवराज जैशीले यो कुनै भगवानले छुवाधुत नबनाएको स्पस्ट पारे । हामी मानवले बनाएको छुवाछुत परम्परा हामीलेनै अन्त्य गर्नुपर्छ जैशीले भने “यो शुरक्षित महिनावारी कसरी गर्न सकिन्छ हामी सबैको दायित्व हो हामीहरुकै कारण छाउपडी प्रथा अन्त्य नभएको भए अब पहल गर्नेछौँ ।”देवी देवताकै नामले ब्यप्त छाउपडी प्रथा उन्मुलन गर्नुपर्नेमा सहभागी धामी झाँक्रीहरुकै जोड छ । सम्मेलनले उनिहरुलाई सफा रहने तर छाउ गोठमा राख्ने अर्थाथात छाउपडी मान्नुपर्ने प्रथालाई अन्त्य गर्ने शन्देस दिएको छ ।
हामीलाई छाउ भएको थाहा नभए केही हुँदैन मुगुका धामी जगत मल्लले भने “जब महिनावारी भएको थाहा पाउँछौँ तब समस्या हुन्छ त्यस कारण यो मनोबिज्ञान हो देउताले केही भन्नुभएको छैन ।” हामी सबै एकजुट भएर लागे महिनावारीकै कारण हाम्रा दिदि बहिनि अशुरक्षित नहुने उनको तर्क छ । गुड नेबर्स र कोइकाको आयोजनामा भएको धामी झाँक्री सम्मेलनले अगुवा धामी झाँक्रीहरुलाई सचेनता गराउने अपेक्षा लिइएको छ । तर ग्रामिण भेगमा रहेका धामी झाँक्री र समाजका अगुवाहरुलाई अँझै चेतना दिन सकिएको छैन । यस कारण समाजमै गएर सचेतना दिन नसके अँझै छाउपडी प्रथा उन्मुलनमा चुनौतीनै रहने छ ।


