काठमाडौँ।विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् । मिश्रनिकट स्रोतका अनुसार स्वतन्त्र वा पार्टीगत रूपमा उठ्ने भन्ने टुंगो भने लागेको छैन ।मिश्रनिकट एक नेताले सञ्चारमाध्यमसँग भने, मिश्रजी काठमाडौं क्षेत्र नम्बर १ बाटै उठ्नुहुन्छ। पार्टीबाट वा स्वतन्त्र रूपमा उठ्ने टुंगो लागेको छैन । मिश्र यसअघि २०७४ सालको चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर १ बाटै उठेका थिए ।
त्यतिबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए। सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए । त्यस्तै वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाएका थिए। यस पटक काठमाडौं क्षेत्र नम्बर १ बाट विवेकशील साझाका पूर्वनेता पुकार बमले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बमले आगामी चुनावमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलगायतसँग तालमेल हुन सक्ने बताएका छन् ।
मिश्रले जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए । स्थानीय तहको निर्वाचन पार्टीले अपेक्षित परिणाम हासिल नगरेको भन्दै उनले राजीनामा दिएका थिए । संघीयता र धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग गर्दै आएका मिश्र पछिल्लो समय राजतन्त्र पुनस्स्थापनाको पक्षमा खुलेका छन् । मिश्रले प्रकाशोन्मुख पुस्तक विचार भन्दा माथि देशमा नेपालको भूराजनीतिक संवेदनशीलताको कारण राजतन्त्र पुनस्स्थापना हुनुपर्ने बताएका छन् । मिश्रले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन् । यसअघि पनि मिश्रले मार्ग परिवर्तन, विचारभन्दा माथि देशु दस्तावेज सार्वजनिक गर्दै स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका थिए ।


