काठमाडौँ। भारतीय विदेशमन्त्री एस जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। भारतको ३ दिने भ्रमणका क्रममा रहेका दाहाललाई विदेशमन्त्री जयशंकरले नयाँदिल्लीस्थित ताजमानसिंह होटेलमा भेटेका हुन्। उनले भाजपा अध्यक्ष जेपी नड्डाको निम्तोमा भारत भ्रमणमा रहेका दाहाललाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्।
त्यस्तै छिमेकी पहिलो नीतिलाई अँगाल्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सधैं साझेदार रहने पनि उनले बताएका छन्। दाहालसँगको भेटबारे जानकारी दिँदै विदेशमन्त्री जयशंकरले लेखेका छन्, भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका पुष्पकमल दाहाललाई स्वागत गर्न पाउँदा खुसी लागेको छ। आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ। छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ। दाहालले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रहेको छ। स्वकीय सचिवहरू गंगा दाहाल र रमेश मल्लसँग भ्रमणमा गएका दाहाल आइतबार नै स्वदेश फर्कनेछन्।


