कैलाली। सुदूरपश्चिम प्रदेशको बजेटबारे छलफल गर्न मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षी दललाई बोलाएका छन्। सुदूरपश्चिम प्रदेशको बजेट पारित गर्न सकस भइरहेको बेला मुख्यमन्त्रीले अहिले बिहान मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा प्रतिपक्षी दलहरूसँग छलफल गर्न बोलाएका हुन् ।
मुख्यमन्त्री भट्टले अहिले बिहान ८ बजे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा विपक्षी दल एमाले, जसपा र लोसपालाई आउन भनेका छन् । प्रतिपक्षी दलले सरकारले असार १ गते ल्याएको बजेटका मूलभूत सिद्धान्त नै गलत रहेको भन्दै निरन्तर संसद् बहिस्कार गर्दै आएका छन् । प्रतिपक्षी तीन दलले हिजो संयुक्त बैठक राखेर बजेट माथिका साझा असहमतिका बिषय पहिचान समेत गरेको थियो । छलफलमा साझा असहमतिका बिषय मुख्यमन्त्री भट्टलाई समेत जानकारी गराउने जनाइएको छ ।
छलफलमा एमालेको तर्फबाट दलका नेता प्रकाश शाह,प्रमुख सचेतक लिलाधर भट्ट र कार्य व्यवस्था परामर्श समितिका सदस्य बलदेव रेग्मी छलफलमा जाने भएका छन् । यहाँ जसपाबाट एक जना मात्रै सांसद छन् । जसपाका सांसद मलामती रानाले हिजै साझा असहमतिमा सहमति जनाइसकेकी छन् । आज उनी प्रदेश बाहिर रहेको हुँदा उपस्थित हुन नसक्ने भएकी छन् । लोसपाका कृष्ण चौधरी पनि एमालेका सांसदसँग मुख्यमन्त्रीको संवादमा सहभागी हुने भएका हुन् । सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेट माथि करिब एक महिना पुग्नै लाग्दा पनि छलफल हुन सकेको छैन । सत्ता पक्ष र विपक्षी अहिले बजेट परिष्कृत हुनुपर्ने अडानमा छन् । यस्तो अवस्थामा मुख्यमन्त्रीले बोलाएको संवादलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रदेशसभाको बैठक हिजो दिउँसो ३ बजेका लागि बोलाएको भएपनि बस्न नसकी स्थगित भएको थियो । आज बिहान ११ बजेसम्मका लागी बैठक स्थगित गरिएको छ।