कैलाली। कैलालीकी सांसद लक्ष्मी चौधरीले बलात्कारको आरोप लागेका बैतडीको पुर्चौडी क्याम्पस प्रमुख राजेन्द्र नेगीविरुद्ध मुद्दा दर्ता हुनुपर्ने माग गरेकी छन् । बैतडीमा एक क्याम्पस प्रमुखले श्रमिक महिलामाथि बलात्कार गरेको आरोपमा पुर्चौडी क्याम्पस प्रमुखमाथि बलात्कारको आरोपमा बिभिन्न समाचार माध्यममा प्रकाशित भएको थियो । यसै विषयलाई सांसद चौधरीले सोमबार प्रतिनिधि सभा बैठकमा पुर्याएकी हुन्।
असार २० गते पुर्चौडी बहुमुखी क्याम्पस प्रमुख नेगीले एक मजदुर महिलालाई बलात्कार गरे पनि प्रहरीले अझै मुद्दा दर्ता गर्न नमानेको चौधरीले बताइन् । बैठकमा बोल्दै उनले भनिन्, ‘पीडित महिलाले प्रहरीमा उजुरी गर्न जाँदा पिडकले धम्की दिएको ती महिलाले बताएकी छन् । त्यसको सत्य तथ्य छानबिनको लागि सम्बन्धित निकायको ध्यानाकर्षण होस् । घटना दर्ता होस् र पीडितले न्याय पाओस् ।’नेगीमाथि कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी चौधरी समुदायकी एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित महिलाले आफूमाथि बलात्कार भएको बताउँदै नेगीविरुद्ध कैलालीबाट मुद्दा दर्ता गर्ने बताएकी छन्।
उनी श्रीमानसहित पुर्चौडी नगरपालिका–१ स्थित इलाका प्रहरी चौकी पुरघाटको भवन निर्माणमा दैनिक ज्यालादारी काम गर्न बैतडी पुगेकी थिइन् ।बलात्कार आरोपी बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख नेगीले भने पदबाट राजीनामा दिएका छन् । नेगीले सोमबार सञ्चालक समिति समक्ष राजीनामा पत्र बुझाएका हुन् ।नेगीले आफूप्रतिको आग्रह र पूर्वाग्रहका कारण केही व्यक्ति, राजनीतिक दलका संगठनहरुले अपुष्ट कुरा फैलाएर चरित्र हत्या गर्ने प्रयास गरेकोले सत्य तथ्य छानबिन नहुँदासम्मका लागि राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।२० असारमा नेगीले मजदुर महिलालाई बलात्कार गरेको बताइए पनि अहिलेसम्म बैतडी प्रहरी भने यो घटनाबारे अनभिज्ञ रहेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ताले यसबारेमा कुनै पनि जानकारी नभएको बताए ।पीडित भनिएकी ती महिलाले नेगीले राति २ बजे जबरजस्ती करणी गरेको बताएकी छन् । नेगीले राति पानी माग्ने बहानामा मुख थुनेर आफूमाथि बलात्कार गरेको ती महिलाको आरोप छ। अहिले श्रीमानले समेत छोडेपछि ती महिला कैलालीमा आफ्नो माइतीघरमा बसिरहेकी छन्। अहिले आफू अलपत्र अवस्थामा रहेको पीडित महिलाले बताएकी छन् ।
बलात्कार आरोप लागेका बैतडीको पुर्चौडी क्याम्पसका प्रमुख नेगीले दिए राजीनामा
बैतडीमा एक क्याम्पस प्रमुखले श्रमिक महिलामाथि बलात्कार गरेको आरोप