कञ्चनपुर। कञ्चनपुरमा भन्सार ब्यारियरबाटै तस्करी हुने गरेको आरोप लागेको छ। भारतबाट कपडालगायत सामान साइकलमा गड्डाचौकी भन्सार पुगेपछि ब्यारियरमा रहेका सुरक्षाकर्मीदेखि भन्सारका कर्मचारी भने टुलुटुल हेरिरहदा ब्यारियरबाटै तस्करी हुने गरेको पाइएको हो ।
भारतबाट कपडालगायत अन्य मालसामान साइकलमा भरिभराउ गरेर आउँछ । मालसामानले भरिएका ती साइकलहरू दशगजामा पुगेपछि खाली गरिन्छन् । कपडा र अन्य सामान सबै अटो रिक्सामा लोड गरिन्छ । ती अटो रिक्साहरू गड्डाचौकी भन्सार ब्यारियरमा पुगेपछि सीधै निस्किन्छन् । ब्यारियरमा रहेका सुरक्षाकर्मीदेखि भन्सारका कर्मचारी भने टुलुटुल हेरिरहन्छन् ।
गड्डाचौकी नाका भएर अधिकांश मालसामान साइकलमै ढुवानी हुन्छ । यहाँ एक/डेढ सय साइकलमा सीमावर्ती बनबासाबाट लुगा कपडादेखि चिनी, गुड, दाल, चप्पललगायत सामानहरू भित्रिने गरेका छन् । यसरी भित्रिने सामानमध्ये आधा मात्रै भन्सार प्रक्रियामा जान्छ । कतिपय चोरबाटो र कतिपय सामान भन्सारकै अगाडिबाट राजस्व नतिरेरै भित्रिन्छ । महेन्द्रनगर बजारमा अधिकांश सामान भारतीय नै देखिन्छ । लुगा कपडादेखि, किराना, विद्युतीय सामग्री र कस्मेटिक सामग्रीहरू भारतबाटै भित्रिएका हुन् । ‘बजारभरि भारतीय सामान छ, तर भन्सारको राजस्व लक्ष्य भेट्टाउन पनि सकिरहेको छैन,’ गड्डाचौकी भन्सार कार्यालयका प्रमुख ध्रुवराज विकले भने, ‘भन्सार भएर भित्रिने सामानभन्दा धेरै अवैध रूपमा भित्रिन्छ ।’
कञ्चनपुर भन्सार कार्यालयले ६ महिनायता राजस्व संकलनमा तोकिएको लक्ष्य भेटाउन सकेको छैन । कुनै महिना त लक्ष्यभन्दा आधा पनि राजस्व संकलन भएको छैन । जेठमा ४ करोड ३९ लाख लक्ष्य भए पनि १ करोढ ९० लाख मात्रै संकलन भएको छ । यसैगरी वैशाखमा ४ करोड ४२ लाख लक्ष्य थियो भने १ करोड ३८ लाख मात्रै संकलन भएको छ । हरेक महिना ४ साढे ४ करोड लक्ष्य भए पनि संकलन भने डेढरदुई करोड मात्रै भएको छ । यसमा केही पछिल्लो समय सरकारले भारतीय सामान आयातमा गरेको कडाइका कारण हो भने त्यो भन्दा बढी भन्सार छली बढेका कारण । मंगलबार महेन्द्रनगर–गड्डाचौकी सडक खण्डअन्तर्गत सुकासाल नजिकै सशस्त्र प्रहरीको इन्टेलिजेन्टस ब्युरोको टोलीले छडके जाँच गर्दा भन्सार छलेर ल्याइएको मालसामान भेटियो । ब्युरोको टोलीले उक्त सामान सशस्त्र प्रहरीको गड्डाचौकीस्थित बीओपीको जिम्मा लगायो । त्यसपछि सामान ढुवानी गर्नेहरूले सशस्त्र प्रहरीको टोलीमाथि नै हातपात गरे । प्रहरीकै सामुन्ने उक्त सामानको गाडी महेन्द्रनगर पुर्याइयो । सशस्त्र प्रहरीको टोलीले महेन्द्रनगर बजारमा खोजी गर्दा महँगो सामान गाडीबाट झारिसकिएको थियो । किराना सामान मात्रै थियो । त्यसपछि उक्त सामान बरामद गरेर बुधबार भन्सार कार्यालयलाई बुझाइएको छ ।


