कञ्चनपुर। कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा ३ महिला घाइते भएका छन्। बिहीबार जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा अनिता खत्री, २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीय माघी खत्री घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायब निरीक्षक रमेशसिंह बुढाथोकीले बताए।
अनिताले ३ दिनअघि शिशुलाई जन्म दिएकी थिइन्। बच्चाको स्वास्थ्यमा समस्या आएपछि उनी उपचार गराउन धनगढीस्थीत सेती प्रादेशिक अस्पताल आएकी थिइन्। तर, उपचारका क्रममा निमोनियाका कारण शिशुलाई मृत घोषणा गरेपछि अनितासँगै कुरुवाहरु घर फर्केका थिए। सोही क्रममा उनीहरु सवार मे१च ६३१ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको थियो। घाइतेहरुको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। एम्बुलेन्स अनियन्त्रित भएर एक घरमा ठोक्किएको बेलौरी प्रहरीले जानकारी दिएको छ। एम्बुलेन्स चालक ज्ञानेन्द्र बोहरा प्रहरी नियन्त्रणमा छन्।

