धनगढी। हिमालय टेलिभिजन र अनलाइनखबरको संयुक्त आयोजनामा प्रशारण र प्रकाशन हुने बैंकिङ शिक्षा कार्यक्रम शुक्रबार धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजमा आयोजना भएको छ । झण्डै ३०० विध्यार्थीहरुको उपस्थितिमाझ आयोजित कार्यक्रममा राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापतिले डिजिटल बैंकिङको अगाडि बढाउँन राष्ट्र बैंकले विशेष जोड दिएको भन्दै युवाहरुमा डिजिटल बैंकिङ सम्बन्धि ज्ञान हुनुपर्नेमा जोड दिए ।
डिजिटल बैंकिङ युजरहरु सुदूरपश्चिममा कम देखिएको तथ्य प्रस्तुत गर्दै प्रजापतिले देशभर १६ लाख इन्टरनेट यूजरहरु हुँदा सुुदूरपश्चिममा २ प्रतिशतमात्रैले इन्टरनेट बैंकिङ प्रयोग गरिरहेको बताए । मोबाइल बैंकिङ पनि सुदूरपश्चिम पछि रहेको तथ्य उनले प्रस्तुत गरे । देशभर १ करोड ६८ लाख प्रयोगकर्ता हुँदा सुदूरपश्चिममा १० लाखमात्रै प्रयोगकर्ता भएकाले यहाँ बैंकिङ शिक्षाको निकै खाँचो रहेको उनले बताए।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना, राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापति, एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाही, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले मन्तव्य राखेका थिए। यस्तै नबिल बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्ट, एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय, नबिल बैंक धनगढी शाखा प्रबन्धक तेज भट्ट, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक खगेन्द्र साउद, प्रदेश प्रहरी कार्यालयका डीएसपी जगदीश डाँगा लगायतले बैंकिङ शिक्षा र यसको महत्व विषयमा मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण हिमालय टेलिभिजनको बैंकिङ शिक्षा कार्यक्रमका निर्देशक प्रविण तिमल्सेनाले गरेका थिए।