काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै आगामी दिनमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन पनि समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।६४ औं संसद दिवसको अवसरमा पूर्वसांसद मञ्चले बिहीबार संघीय संसद भवनमा आयोजना गरेको कार्यक्रममा उनले लोकतान्त्रिक प्रणालीमा अध्यावधिक निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
प्रधानमन्त्री देउवाले भने, हामी लोकतान्त्रिक अभ्यासमा छौं । आवधिक निर्वाचन समयमा गरिनेछ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण तरिकाले समयमै गर्न सरकार प्रतिवद्ध रहेको छ ।मुलुकलाई विकास र स्थायित्वतिर लाने दायित्व सबैको भएको पनि प्रधानमन्त्री देउवाको भनाइ थियो । उनले जननिर्वाचित व्यवस्थाअनुसार नै सबै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।
जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्त्वपूर्ण हो । अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो,उनले भने ।प्रतिनिधिसभाको निर्वाचन आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो साता गर्ने तयारीमा सरकार रहेको छ ।त्यस्तै, प्रधानमन्त्री देउवाले संसद, संसदीय समितिको निर्देशनलाई सरकारले पालना एवं कार्यान्वयन गर्ने विश्वास दिलाएका थिए ।