धनगढी : यातायात मजदूरका क्षेत्रमा काम गर्दै आइरहेको संगठन नेपाल यातायात स्वतन्त्र मजदूर संगठनको ४३ औँ स्थापना दिवशका अवशरमा धनगढीमा बिविध कार्यक्रम गरिएका छन् । स्थापना दिवशको अवशरमा संगठनले सामाजिक कार्य गरेको छ ।
मजदूरका अधिकार र मागका बिषयमा संगठनले निरन्तर पहल र सम्बाद गर्दै आएको छ । स्थापना दिवशको अवशर पारी बिगतबाटै सामाजिक कार्य गर्दै आएको संगठनले यस बर्षपनि रक्तदान, सरसफाई कार्यक्रम लगायत ९ वटा सामाजिक कार्य गरेको संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले जानकारी दिए ।
बिहानै सरसफाई कार्यक्रमबाट शुरु गरिएको स्थापना दिवशमा नेपाल आयल निगम सुदूरपश्चिम प्रदेश कार्यालय परिषरमा एक औपचारिक कार्यक्रम गर्दै रक्तदान कार्यक्रमको सुभारम्भ गरिएको थियो । ९ गते अनाथ आश्रममा राहत प्रदान गर्ने, साँझ बसपार्कमा दिप प्रज्वलन, कारागारमा रहेका चालकहरुलाई भेट्ने कार्यक्रम, हाजिरिजवाफ प्रतियोगिता र बृद्ध आश्रमामा खाद्यान्न सहयोग कार्यक्रम समेत रहेको चन्दले बताए ।
औपचारिक कार्यक्रममा आधिकारिक ट्रेड युनियन जिफन्टका सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादूर मल्लको प्रमुख आतिथ्यता थियो । मल्ल संगै प्रदेश सचिव चन्द्र प्रकाश गैरे, आयल निगम धनगढी प्रमुख लगायतको सहभागिता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिफन्ट प्रदेश अध्यक्ष जित बहादूर मल्लले मजदूरको नेता बन्नु फलामको चिउरा चपाएझैँ भएको बताए । बषौँबाट मजदूरका समस्याको वकालत गर्दै आएपनि अँझै समस्या समाधान हुन नसकेको मल्लले बताए । अझैँ मजदूरका समस्या समाधान गर्न संगठन कटिबद्ध रहेको बताउँदै मल्लले सबै मजदूरहरुलाई संगठित बन्न आग्रह गरे ।