कञ्चनपुर। कञ्चनपुरको पुनर्वासमा मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा मोटरसाईकलको ठक्करबाट सोही ठाउँका केशव राना मगरका २ वर्षीय छोरा मनिषको मृत्यु भएको हो।
मंगलबार बिहान साँढे आठ बजेतिर पुनर्वास–६ प्रतिभानगर बजारबाट भारततर्फ जाँदै गरेको यु.पी.३१ के. ८१३० नम्बरको भारतीय मोटरसाईकलको ठक्करबाट स्थानीय दुई वर्षीय बालकको मृत्यु भएको हो।ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार मोटरसाईकलको ठक्करबाट घाईते भएका मनिष राना मगरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
ठक्कर दिने भारतीय मोटरसाईकल चालक सोहि वडाका १७ वर्षिय मनिष सुनुवार र पछाडी सवार लक्ष्मण सुनुवार मोटरसाईकल सहित दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मल्लले बताए ।त्यस्तै आईतबार मात्रै सोहि क्षेत्रमा मोटरसाईकलकै ठक्करबाट एक वृद्ध घाईते भएका थिए । घाईते वृद्धको धनगढी स्थित अस्पतालमा उपचार भईरहेपनि अवस्था चिन्ताजनक रहेको प्रहरीबाट बुझिएको छ । पुनर्वासमा दैनिकै सवारी दुर्घटना बढ्दै जानु ओभर स्पिड र नगर भित्र प्रहरीको नियमित सवारी चेकजाँच नहुनु मुख्य कारण रहेको जनाइएको छ ।


