काठमाडौँ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय सुरक्षाकर्मीले तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएका नेपाली नागरिक जयसिंह धामीको सम्बन्धमा बुझ्न सरकारबाट निरन्तर पहल भइरहेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदनअनुसार भारतलाई कूटनीतिक माध्यमबाट लेखिपठाएको बताए।उनले भने, ‘नेपाली नागरिक जयसिंह धामी तुइनबाट महाकाली नदी तर्नेक्रममा बेपत्ता भएको घटनाको सम्बन्धमा गठित समितिको प्रतिवेदनअनुसार भारत सरकारलाई २०७८ भदौ २० मा कूटनीतिक माध्यमबाट लेखिपठाइएको र यससम्बन्धमा नेपालको तर्फबाट निरन्तर पहल भइरहेको छ।’
गत वर्ष साउन १५ गते दार्चुला जिल्लाको व्यास गाउँपालिका मालघाटस्थित महाकाली नदी पार गर्न सीमावर्ती तुइन तर्दै गर्दा एसएसबीका सुरक्षाकर्मीले आरा प्रयोग गरी जानाजान तुइनको तार काटिदिएपछि स्थानीय धामी महाकाली नदीमा बेपत्ता भएका थिए। उक्त घटनापछि देशभर विरोध चर्किएको थियो। सरकारले बेपत्ता धामीलाई न्याय दिन नसकेको भन्दै सरकारको आलोचना भएको थियो भने भारतले माफी माग्नुपर्ने माग उठेको थियो।