दार्चुला। बुधबार शैल्यशिखर नगरपालिका–१ बारिलमा एकल महिलालाई आगो लगाई हत्याको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
महिलालाई आगो लगाई फरार रहेका सोही ठाउँका ४२ वर्षीय भोजबहादुर खडायतलाई प्रहरीले बिहीबार बैतडीको खोचलेकबाट पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। बारिलकी ४५ वर्षीय अनिभा खडायतलाई घरबाट ५० मिटर टाढा रहेको उखुको बारीमा रहेको खरको थुप्रोमा जलाएर हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।प्रहरीका अनुसार अनिभाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा एक जना पुरुषको कट्टुसमेत फेला परेकोले प्रहरी डीएसपी प्रतिक विष्टले बताए । डीएसपी विष्टका अनुसार बलात्कार गरेको पोल खुल्ने डरले हत्या गरेको हुन सक्ने देखिन्छ । भोजराजले पनि बिहानको समयमा अनिभालाई घरबाट बोलाई बारीमा लगी करणी गर्ने विषयमा दुवै जनाबीच विवाद हुँदा ढुंगाले हानी घरतर्फ जाँदै गर्दा मृतककी छोरीले देखेपछि पोल खुल्ने डरले पुनः घटनास्थलमै गई खरले छोपेर आगो लगाई घटनास्थलबाट भागेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
भोजराजले घटनामा आफ्नो मात्र संलग्नता स्वीकार गरेका छन् । भोजराजको विरुद्धमा जबर्जस्ती करणी ज्यान सम्बन्धी कसुर र डाँका चोरी शिर्षकमा मुद्दा दर्ता भई दार्चुला जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएकोले थप अनुसन्धान जारी रहेको बताइएको छ । प्रहरीका अनुसार अनिभाको टाउकोमा ढुंगा प्रहार गरेको पाइएको छ । घटनास्थलमा ढुंगो फेला परेको प्रहरीले जनाएको छ । मृतकको पोष्टमार्टमबाट पनि अनुसन्धानका लागि थप प्रमाण जुटाउने आसा गरिएको डीएसपी विष्टले जानकारी दिए । घटना भएकै दिन प्रहरीले नियन्त्रणमा लिएका थप दुई जनाको संलग्नता नदेखिए पनि अनुसन्धानको दायरामा राखिएको विष्टले बताए ।