धनगढी। लागुऔषध खैरो हिरोईनसहित धनगढीमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको पुर्नवास नगरपालिका १ का ४२ वर्षीय डब बहादुर तामाङ सोही ठाउँकै ३५ वर्षीय कान्छा तामाङ र २८ वर्षीय अञ्जु सार्की रहेका छन् ।
गोप्य सुचनाको आधारमा खटीएको प्रहरीको विशेष टोलीले धनगढीका छुट्टाछुट्टै स्थानबाट ३ जनालाई पक्राउ गरेको हो ।डबको साथबाट ३० ग्राम लागुऔषध खैरो हिरोइन फेला पारेको प्रहरीले बताएको छ। उनलाई पक्राउ गरी थप अनुसन्धान गर्दा धनगढी २ स्थित त्रिनगर भन्सारबाट कान्छा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनको साथबाट १० ग्राम खैरो हिरोइन बरामद गरिएको छ। त्यस्तै, धनगढी ३ टाफिक चौराहाबाट पक्राउ परेकी सार्कीको साथबाट ४९ हजार नगद बरामद गरिएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।


