काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए ।
बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन् । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरेकी छन् । काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण राष्ट्रिय सभागृहमा हुनेछ । मेयर साह र उपमेयर डंगोलले आजै कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम पनि रहेको आचार्यले जानकारी दिए । आगामी ५ वर्षका लागि काठमाडौं मेयरमा स्वतन्त्रबाट बालेन साह चुनिएका छन् । त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन् ।