काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कुनै पार्टीसँग गठबन्धन, सहकार्य नगरी प्रधानमन्त्री बन्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको बैठकमा शनिबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा दाहालले विगतमा माओवादीको सहयोग र मतले ओली प्रधानमन्त्री बनेको भन्दै आगामी निर्वाचनबाट एक्लै एमालेबाट प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन् ।
दाहालले एमाले अध्यक्ष ओली दुईपल्ट माओवादीको सहयोगमा प्रधानमन्त्री बनेको बताए । हाम्रो प्रतिपक्षी दलको नेता जसलाई मैले नै सहयोग गरेर, माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको हो । एक्लै भएको छु भन्ने ठान्नुभयो भने त्यो भ्रम हटाइदिनुस्, तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन, दाहालले भने, पहिलो चोटी पनि माओवादी केन्द्रको, तपाईंको भाषामा वैशाखी टेकेर, हुनुभएको हो । दोस्रोपटक हाम्रो पनि भोट लिएर हुनुभएको हो । अब भएर देखाउनुस् त ! अबको चुनावबाट प्रधानमन्त्री बनेर देखाउनुस् तपाईंलाई मानिन्छ, तपाईं एमालेको हुनुहोला ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पदमा रहेको बेला ओलीले दीर्घकालीन रूपमा बस्नको लागि व्यवस्था गरेको उल्लेख गर्दै दाहालले विगतको पाठबाट सिक्न सुझाव दिए । मैले त सोच्थे उहाँ हुँदोखाँदाको दुई तिहाइको सरकार । दीर्घकालीन ढंगले त्यहाँ रहन्छु भनेर बालुवाटारमा तयारी गर्नुभएको थियो, तर असमयमै बालकोट जानुपर्यो । आफ्नै सरकार ढलाएर, आफ्नो पार्टी फुटाएर रियलाइजेसन होला कि भन्ने लागेको थियो, उनले भने, भएभरका प्रदेश सरकार गए । अब त आफूतिर फर्किनुहुन्छ होला भन्ने लागेको थियो । राष्ट्रिय सभाको चुनाव भयो । त्यसमा जे भोग्नुभयो त्यसबाट पनि केही त लाग्छ होला भन्ने लागेको थियो । स्थानीय तहको निर्वाचन पछि त आत्मसमीक्षा गर्नुहुन्छ, देशको स्थायित्व, कम्युनिस्ट आन्दोलनको निम्ती तत्पर रहनुहोला भन्ने लागेको थियो । तर ओलीबाट त्यस्तो नभएको दाहालको भनाइ थियो ।