कञ्चनपुर। कञ्चनपुरको पुनर्वासमा नेपाली काङ्ग्रेसको विजयी यात्रामा निस्किएको ट्याक्टर दुर्घटना भएको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिका-५ ‘ग’ गाउँमा काङ्ग्रेसबाट विजयी भएका वडाध्यक्ष पदम रोकायाको विजयी यात्रामा निस्किएको ट्याक्टर दुर्घटना भएको हो। मंगलबार छापाली लाईनको सुर्खेती चोक नजिकै विजयी यात्रामा जाँदै गरेको से२त २१९१ नम्बरको ट्याक्टर दुर्घटना प्रहरीले जनाएको छ।दुर्घटनामा १७ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।प्रहरीका अनुसार घाइतेमध्ये ९ जनालाई अस्पतालले डिस्चार्ज गरिसकेको र अन्य ८ जनाको उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको छ।
दुर्घटनाका घाईतेहरुको स्वास्थ्य अवस्था बुझ्न पुनर्वासका नव निर्वाचित नगर प्रमुख तोयप्रसाद शर्मा धनगढीको माया मेट्रो हस्पिटलमा पुगेका थिए। हस्पिटल पुगेका मेयर शर्माले घाईतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाईतेहरुको स्वास्थ्य उपचारमा बिशेष ध्यान दिन अनुरोध गरेका हुन् । घाईते हुनेहरुमा महिला र केटीहरु छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको बुझिएको छ ।