कञ्चनपुर। कृष्णपुर नगरपालिका–२ का अर्जुन साउँद हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट चम्किएका छन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी कञ्चनपुर कृष्णपुर नगरपालिकाको सबैभन्दा ठूलो वडा जितेका छन् ।
कृष्णपुर नगरपालिकाको सबैभन्दा ठूलो वडा २ नम्बरबाट ३४ वर्षको उमेरमा वडाध्यक्ष निर्वाचित भएसँगै उनको लोकप्रियता परीक्षण भएको छ । वडाको चुनावमा वडाध्यक्षसहित ५ जना मैदानमा उत्रिएका भएपनि नेकपा माओवादी केन्द्रबाट उनी मात्रै वडाध्यक्षमा निर्वाचित भएका छन् ।
वडा सदस्यहरू अन्य पार्टीबाट निर्वाचित भएका छन् । वडामा लोकप्रिय भएकै कारण उनी एक्लैले अन्य दलका समर्थकबाट समेत मत पाएर विजयी भएका चर्चा छ । उनी माओवादीबाट कृष्णपुरको मेयरको उम्मेदवार बन्ने दौडमा रहे पनि अन्तिममा वडाध्यक्षको चुनाव लडेका थिए । २ नम्बर वडामा ६ हजार ५८५ मतदाता रहेकोमा ४ हजार ३६० मत खसेको थियो । जसमध्ये साउँदले १ हजार ३७५ मत पाएर विजयी भएका छन् । २ नम्बर वडा नगरपालिकामा सबैभन्दा बढी मतदाता रहेको वडा हो । माओवादीका उम्मेदवार जोगराज चौधरीले कृष्णपुरको मेयर पद जित्न सकेनन् । मेयरमा नेपाली कांग्रेसका हेमराज ओझा निर्वाचित भएका छन् । वडाध्यक्ष साउँद माओवादीबाट नगर कार्यपालिकामा प्रतिनिधित्व गर्ने वरिष्ठ नेता बन्ने भएका छन् । उनी माओवादीको प्रदेश कमिटी सदस्य तथा कृष्णपुर नगर सह-इन्चार्ज हुन् ।
२०५८ सालमा अनेरास्ववियु क्रान्तिकारीबाट विद्यार्थी राजनीति सुरु गरेका उनी उदय मा।वि बंकको इकाई कमिटीमा आवद्ध भएका थिए । त्यसपछि उनी बालजागृति कलेजमा क्याम्पस कमिटीमा आवद्ध हुँदै जिल्ला कमिटी सदस्यसम्म बनेका थिए । उनी बालजागृतिमा पढ्दा विद्यार्थीमाझ लोकप्रिय थिए । त्यसपछि उनी पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालमा आवद्ध भए । लामो समय वाईसीएलको कञ्चनपुर जिल्ला इन्चार्ज रहेका उनी हाल वाईसीएलको केन्द्रीय सदस्य र सुदूरपश्चिम प्रदेश सहसंयोजक छन् । यसबीच उनी लामो समय पार्टीको कृष्णपुर नगरपालिका कमिटी अध्यक्ष समेत रहे । उनी पार्टीको तर्फबाट नगरपालिकामा सर्वदलीय संयन्त्र प्रतिनिधि समेत बसे । यी विभिन्न भूमिकामा रहँदा जनताको सेवा गरेको प्रतिफल साउँदले यसपालि चुनावमा पाएका छन् । उनी विभिन्न सामाजिक संघसंस्थामा समेत जोडिएका छन् ।
झिलमिला सामुदायिक वन कृष्णपुर–२ र शुक्लाफाँटा–१ का अध्यक्ष रहेका साउँद सामुदायिक वन समन्वय समितिका उपाध्यक्ष हुन् । चुरे लालझाडी सहकारीका कोषाध्यक्ष, लालझाडी मोहना संरक्षित वन परिषद्का सचिवको भूमिकामा समेत उनी छन् । उदय मावि बंकको व्यवस्थापन समिति अध्यक्ष समेत रहिसकेका उनी कृष्णपुर खानेपानी तथा सरसफाई समितिको अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी वाणी उपशाखाको उपसभापति, उदय सरस्वती क्याम्पस बंकको संस्थापक सदस्य, ईन्द्रेणी युवा क्लबको अध्यक्ष भइसकेका छन् । जनताले महसूस गर्ने गरी काम गर्ने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष साउँदले गरेका छन् । उनले चुनावी प्रचारका क्रममा गरेका प्रतिबद्धता पूरा गर्ने समेत बताएका छन् ।
यस्ता छन् उनका चुनावी प्रतिबद्धता –