धनगढी। धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली काँग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गर्दै हमाल विजयी भएका हुन्। हमालले वडलाई १२ हजार बढी मतले पराजित गरेका हुन्।
हमालले २६ हजार ८६५ मत पाए भने वडले १४ हजार ८१७ मत पाएका छन्। यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन्। यस्तै उपमहानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छिन्।
उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरेकी हुन्। रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए। ३० गते भएको मतदानमा ६३ हजार ६४७ मत खसेको थियो।