सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा हालसम्म करिब ८० प्रतिशत पालिकाको नतिजा सार्वजनिक भइसकेको छ । ८८ पालिका रहेको प्रदेशमा ८१ पालिकाको नतिजा सार्वजनिक भएको हो । जसमा ३६ पालिकामा विजयी हुँदै नेपाली काँग्रेसले पहिलो स्थानमा रहेको छ भने २४ पालिकामा जित निकाल्दै एमाले दोस्रो र १४ पालिकामा जित निकाल्दै नेकपा माओवादी तेस्रो स्थानमा रहेका छन ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ४, एकीकृत समाजवादीले २ पालिका र स्वतन्त्र उम्मेदवार १ पालिकामा विजयी भएका छन् ।
प्रदेशका ७ पालिकामा अझै नतिजा आउन बाँकी छ । जस मध्ये ४ पालिकामा अहिले कांंग्रेसले अग्रता कायम गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका र अछामको साँफेबगर नगरपालिकामा काग्रेस अगाडी छ ।
पुनर्वासमा ५ हजार ४७४ मत सहित तोय प्रसाद शर्माले अग्रता कायम राखेका छन भने उनलाई ३ हजार ६२४ मतका साथ एमालेका पदम बहादुर पुजाराले पछ्याइरहेका छन । भीमदत्त नगरपालिकामा १० हजार ५६३ मतका साथ कांग्रेसका पदम बोगटीले अग्रता लिएका छन । उनलाई ५ हजार ३९८ मत सहित एमालेका महेश प्रसाद पन्तले पछ्याइरहेका छन । कृष्णपुरमा कांग्रेसका मेयरका उम्मेदवार हेमराज ओझा ८ हजार ४४२ मतसहित अग्रस्थानमा अग्रता बनाएका छन । उनलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जोगराज चौधरीले पछ्याइरहेका छन् । चौधरीले ६ हजार ७१४ मत ल्याएका छन् । अछामको साँफेवगर नगरपालिकामा कांग्रेसका राजेन्द्रबहादुर कुँवरले ९९४ मतका साथ अग्रता कायम राखेका छन भने उनलाई एमालेकी पशुपति कुँवरले ६०० मतका साथ पछ्याइरहेकी छिन ।
प्रदेशको एक मात्रै महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवारीले अगाडी छन भने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एमाले अगाडी छ । धनगढीमा स्वतन्त्र उम्मेदवार हमालले २२ हजार ५४१ मतका साथ अग्रता कायमै राखेका छन भने दोस्रो बढी मत ल्याएका कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मत ल्याएका छन । शुक्लाफाटामा एमालेका मेयरका उम्मेदवार रणबहादुर महराले ५ हजार ८१४ मतका साथ अग्रता कायम गरेका छन भने उनलाई पछ्याइरहेको नेपाली कांग्रेसका चीन्तामणी भट्टले ५ हजार ३०४ मत ल्याएका छन् ।नतिजा आउन बाँकी बाजुराको बुढीगंगा नगरपालिकामा भने विवादका कारण अझै मतगणना सुरु गर्नै बाँकी छ ।