महोत्तरी। बर्दिबास नगरपालिका, महोत्तरीको वडा नम्बर ८ को वडाध्यक्षमा निर्वाचित भएको घोषणा भएपछि माओेवादी केन्द्रका समसेर सिंहले विजय उत्सव मनाए।पार्टीको बलियो पटक मानिएको बर्दिबासको मेयरमा माओवादी उम्मेदवार तेस्रो स्थानमा छ।
वडाध्यक्षमा त्यस्तै परिणाम आएको बेला समसेर विजय भएकाले माओवादीले पनि खुसी साट्यो। तर बिहीबार निर्वाचन कार्यालय, महोत्तरीबाट आएको फोनले माओवादी केन्द्रसँगै समसेरलाई नराम्रो झड्का दियो।निर्वाचन कार्यालयका अनुसार अरु वडाको मत गणना गर्दै जाँदा सरस्वती आधारभूत विद्यालयको एउटा बाक्स भेटिएको हो । अब त्यसको गणना गर्नुपर्ने भएको छ । ‘हाम्रो तीन वटा मतदान केन्द्र थियो ।
सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रको एउटा मतपेटिका छुटेको रहेछ भनेर मैले पनि विहान सुनेँ,’ समरेस भन्छन्, ‘विजय घोषणा गरिदिनुभयो, हामीले विजय उत्सव मनाऔं । अहिले एउटा बक्सा भेटिएपछि समस्या आयो ।’ वडाध्यक्षमा विजय घोषणा हुँदा समसेरले ७५१ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालका रुद्रबहादुर किङरिङ मगरले ७४४ मत पाएका थिए । उनीहरुको मतान्तर जम्मा ७ छ । गन्न बाँकी मतपेटिकामा ८०/८५ मत रहेको अनुमान रहेको भन्दै समसेर भन्छन्, ‘नजिता जे पनि आउनसक्छ ।’