कैलाली। कैलालीको भजनी नगरपालिकामा पनि रेशम चौधरीको पार्टीले विजय हासिल गरेको छ। नागरिक उन्मुक्ति पार्टीबाट केवल चौधरीले प्रमुख र उपप्रमुखमा राजु तिरुवा विजयी भएका हुन्।
प्रमुखमा केवल चौधरीले आठ हजार ९६६ मत पाएर विजयी भए। उनका प्रतिद्धन्द्धी शेरबहादुर चौधरीले पाँच हजार १९८ मत पाए । शेरबहादुर निवर्तमान मेयर पनि हुन । उपप्रमुखमा राजु तिरुवा ७ हजार ६२२ मत पाएर विजयी भइन । उनले काँग्रेसका गोकेन्द्र भण्डारीलाई पराजीत गरेकी हुन । भण्डारीले ४ हजार ४९० मत पाएका थिए । भजनीमा काँग्रेस र माओवादी गठवन्धन भएको थियो ।
नागरिक उन्मुक्ती पार्टीले यसअघि कैलालीको टीकापुरमा प्रमुख र जोशीपुरमा अध्यक्ष र उपाध्यक्ष जितिसकेको छ।प्रमुख, उपप्रमुख जितेको नागरिक उन्मुक्तिले ३ वडाध्यक्ष, माओवादी केन्द्रले ३ वडाध्यक्ष, नेकपा एमालेले २ वडाध्यक्ष र नेपाली काँग्रेसले १ वडाध्यक्ष जितेका छन्।भजनीमा नागरिक उन्मुक्तिबाट वडा नम्बर १ को वडाध्यक्षमा धर्मेन्द्र श्रेष्ठ, ३ मा विक्रम चौधरी, ६ मा रामसागर चौधरी विजयी भएका छन्।
गठबन्धनमध्ये माओवादीका तर्फबाट वडा नम्बर २ मा दुर्गा पुन, ४ मा जन्ताराम चौधरी, ८ मा पंकज चौधरी र काँग्रेसका तर्फबाट वडा नम्बर ७ मा अमरबहादुर कठरिया वडाध्यक्षमा विजयी भएका छन भने नेकपा एमालेबाट वडा नम्बर ५ मा केशब बुढा र ९ मा सञ्जिब चौधरी विजयी भएका छन्।उनीहरुले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई हराएका हुन्। चौधरीको पार्टीले यसअघि कैलालीको टीकापुरमा प्रमुख र जोशीपुरको प्रमुख र उपप्रमुख दुवै नागरिक उन्मुक्ति पार्टीले जितिसकेको छ ।