धनगढी। कैलालीको गोदावरी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यकक्षमा स्वस्तिक छाप भेटिएको विषयको विवाद मिलेको छ।
स्वस्तिक छाप भेटिएको भन्दै मुचुल्का उठाइएपछि विवाद मिलेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।सर्वदलीय बैठकमा स्वस्तिक छाप भेटिएको मुचुल्का बनाउँदै अब त्यस्ता गतिविधि नगर्ने विषयमा सबै दल सचेत हुने सहमति भएको निर्वाचन अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए।
उनका अनुसार विवाद समाधान भएसँगै केहीबेर प्रभावित भएको मतगणनाको काम अघि बढेको छ। यसअघि निर्वाचन अधिकृत भण्डारीको कार्यकक्षमा रहेको टेबुलमा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि नेकपा एमालेको विरोधका कारण मतगणना केहीबेर स्थगित भएको थियो। स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यकक्षमा फेला परेपछि एमालेले सत्तारुढ गठबन्धनले मत गणनामा धाँधली गरिरहेको आरोप लगाएको थियो ।