कैलाली। कैलालीको गोदावरी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। कैलालीको गोदावरी -६ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उमेदवार जग्गु चौधरीको घरमै पसेर नेपाली काँग्रेसका कार्यकर्ताहरुले खुकुरी प्रहार गरेका छन ।
खुकुरी प्रहारबाट वडाध्यक्ष जग्गु चौधरीकी छोरी २३ वर्षिया लक्ष्मी चौधरी, भाई विन्तीराम चौधरी, भाई बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घाईते भएमा छन । बुधबार राती गोदावरी नगरपालिकाको वडा नम्बर ६ बडेहा भन्ने स्थानमा नेकपा एमालेका उमेदवार जग्गु चौधरीको घरमै पसेर यस्तो घटना भएको हो । खुकुरी प्रहारबाट उमेदवारका भाई विन्तीराम चौधरी सबैभन्दा बढी घाईते भएका छन । उनको पाखुरामा खुकुरीको गहिरो चोट लागेको छ । उनलाई उपचारका लाग अत्तरियामा रहेको पदमा अस्पतालमा भर्ना गरिएको छ ।
खुकुरीको घाउ गहिरो भएकाले उनको सल्यक्रिया गरिएको पदमा अस्पतालका डाक्टर नरबहादुर मौनीले बताए । यस्तै उमेदवारका भतिजा रविन चौधरीको पनि कान्छि औला खुकुरीले काटिएको छ । उपचारमा रहेका विन्तीराम चौधरीले ‘हामीहरु खाना खाएर सुत्ने तयारीमा थियौं, नेपाली काँग्रेसका युवाहरु प्रकाश ओली, विनोद शाह सहितका १४/१५ जना टोली आयो, उनीहरु मदिरा खाएर लठ्ठीएका थिए, एकाएक घरभीत्र पसे, जग्गु चौधर कता छ भनेर सोधे, हामीले उनलाई अधेरोमा लुकाई दियौं, अनी मलाई पहिला लठ्ठीले हान्यो, मैले लठ्ठी खोसे, त्यसपछि खुकुरीले घाँटीमा हान्न खोजेको थियो, मैले हातले छेकेपछि हात काटियो’ उनले भने ।
उनले आफुहरु जित्ने पक्का भएपछि, काँग्रेसका कायकर्ताहरु आत्तिएर आक्रमणमा उत्रीएको बताए। उमेदवार जग्गु चौधरीको छोरीको पिठ्युमा चोट लागेको छ । ‘मलाई भीत्रबाट तानेर बाहिर आँगनमा ल्याए, खुकुरीले हान्न खोजेका थिए, म भागे, अनी खुकरीको उल्टो भागले पिठ्युमा चोट लाग्यो’ लक्ष्मीले भनिन ।आक्रमण गर्नेहरुलाई प्रहरीले अहिलेसम्म पनि पक्राउ भने गरेको छैन । इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख डिएसपी रविन्द्रराज पाण्डेले केही नामहरु पिडितले दिएको र उनीहरुको खोजी भईरहेको बताए । उता त्यही वडामा काँग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदवार जयराज फुलाराले त्यहाँ राती भोजभतेर भईरहेको देखेपछि रोक्न खोज्दा झडप भएको जानकारी दिए ।