काठमाडौं। निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेपछि मन्त्री आलेलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।
मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त आयोजनामा वैशाख २६ मा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मक भाषण दिएको, तडकभडक गर्दै भोजभत्तेर गरेको, मतदातालाई रकम बाँडेको, गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार दुर्गादत्त ओझाको चरित्र हत्या गर्ने खालका सम्पादित भिडियोहरू सार्वजनिक स्थलमा राखेको, गुण्डागर्दी गर्दै अराजक टिम परिचालन गरी ज्यान मार्ने धम्की दिएको आदि व्यहोरासहितको उजुरी प्राप्त भएको थियो ।
आयोगले निर्वाचन आचारसंहिता, २०७८ को विभिन्न दफाविरुद्ध हुने गरी के कसो भएको हो र कारवाही किन गर्नु नपर्ने हो रु भन्ने प्रश्नसहित स्पष्टीकरण मागेको छ। यस अगाडि निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो। जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा कुनै अमुक उम्मेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छ, हुँदैन ? बालिग स्वतन्त्र मताधिकारको प्रयोग गर्न पाउने हकलाई संकुचन गर्छ, गर्दैन ? भनेर २४ घण्टाभित्र जवाफ मागेको छ।
आयोगले प्रचण्ड र आरजुलाई संविधानको धारा ४८, नागरिक कर्व्य अन्तर्गत खण्ड ख मा भएको संविधान र कानुनको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको व्यवस्था पनि स्मरण गराएको छ। ‘हरेक राजनीतिक दल, यसका नेता तथा कार्यकर्ता र नागरिकको व्यवहार तथा अभिव्यक्ति संविधान र प्रचलित कानून सम्मत हुनुपर्छ भन्नेमा कुनै दुविधा हुन सक्दैन,’आयोगले भनेको छ ।