दार्चुला। हिमाली जिल्ला दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी हुने भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि व्याँस गाउँपालिका(१ मा रहेका छाङ्गरु र तिंकरको मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरले निर्वाचन सामग्री ढुवानी गर्न लागेको हो। नेपाली भूमिबाट सो क्षेत्र जान बाटो नभएका कारण हेलिकप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरू पुर्याउन लागिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
सोमवार नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु र तिंकरको मतदान केन्द्रका लागि मतपत्र, मतदाता परिचयपत्रलगायत सबैखाले निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरूलाई पठाइने उनले बताए । छाङ्गरुको कैलाशपति आवि केन्द्रमा ३७५ र तिंकरको आवि मोती महिला सङ्घ केन्द्रमा २३१ मतदाता रहेका छन् ।
सो क्षेत्रका बासिन्दाहरू वैशाख तेस्रो सातादेखि सदरमुकामबाट व्याँस उक्लन थालेका छन् । जिल्लाका ११० वटा मतदान स्थल र १३९ मतदान केन्द्रहरूमध्ये ७० वटा मतदान केन्द्रहरूमा कर्मचारी र निर्वाचन सामाग्री पठाइ सकिएको जिल्ला निर्वाचन अधिकारी प्रदीप सिंह धामीले जानकारी दिए । जिल्लामा ८८ हजार २ सय १५ मतदाता रहेका छन् ।
यस्तै दार्चुलामा निर्वाचन अवधिभर मदिरा पदार्थ बिक्रीवितरण तथा सेवन गर्न रोक लगाइएको छ। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार यही वैशाख २५ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम मत परिणाम घोषणा नभएसम्म मादकपदार्थको बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ।
उक्त कार्यलाई बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानूनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका, २०७८ को दफा ६ ९थ० बमोजिम पूर्ण निषेध गरिएको जनाएको छ।