धनगढी । धनगढी उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई जिताउन उमेदवारहरुले अपील गरेका छन् । बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरिएको माओवादी नेता रमेश प्रसाद भट्टराईले जानकारी दिए ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनगढीमा पनि पाँच दलीय गठबन्धन गरिएको छ। प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका शन्ति अधिकारीलाई गठबन्धनको साझा उम्मेदवारका रुपमा अघि सारिएको छ । भने वडा स्तरमा गठबन्धनका घटक दलहरुबीच मित्रवत प्रतिस्पर्धा हुने भएको हो ।
संयुक्त जारी विज्ञप्तिमा भनिएको छ,गठबन्धनमा आवद्ध सबै राजनीतिक दलका स्थानीय वडा तहको नेतृत्व, वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरु बड़ा तहमा आआफ्नो दलका उम्मेदवारका पक्षमा मत माग्ने र गठबन्धनका साझा मेयर पदका उम्मेदवारको निर्वाचन चिन्ह रुखमा र उपप्रमुखका उम्मेदवारको निर्वाचन चिन्ह गोलाकारभित्र हसिया हतौडामा मतदान गर्ने वातावरण सुनिश्चित गर्न अनुरोध गर्दछौं । साथै निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरुलाई अत्यधिक बहुमतका साथ विजयी गराउन सबै पार्टीका जिल्ला, क्षेत्रीय, पालिका र वडा स्तरका संगठनहरु तथा सबै पार्टीका भातृ तथा सुभेच्छुक संघसंस्थाहरु क्रियाशील र संगठित सदस्यहरु, सबै तहका निर्वाचन परिचालन कमिटीहरुलाई हार्दिक अनुरोध गरिएको छ।