नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुसोजस्तो भएका बताएका छन् ।
कैलालीको बर्दगोरियामा बिहीवार आयोजित चुनावी सभालाई सम्बोधन अध्यक्ष ओलीले भने, ‘प्रचण्ड एमालेको अध्यक्ष हुँदा, उहाँ दोस्रो अध्यक्ष हुनुहुन्थ्यो, शेरजस्तो हुनुहुन्थ्यो । अहिले भिजेको बिरालो होइन, मुसोजस्तो हुनुहुन्छ ।’
ओलीले स्थानीय चुनावका बेला माओवादी र एकीकृत समाजवादीले चुनावी सभा समेत गर्न नसकेको बताए । कांग्रेसले आयोजना गरिरहेका चुनावी सभामा प्रचण्डले बोल्न समेत नपाएको उनले बताए ।
‘प्रचण्ड र माधव नेपालजीलाई बधाई छ ! कांग्रेसले ७ ठाउँमा सभा गर्ने, उहाँहरू पछाडि–पछाडि लाग्ने । कांग्रेसले कतै बोल्न नदिने भएपछि हिजो प्रचण्ड र माधवजीको बालुवाटारमा रुवाबासी भयो । प्रचण्डले भन्नुभयो – म छोरीको बाउ भरतपुरमा बोल्न पनि नपाउने ? त्यस्तो पनि हुन्छ ? मलाई बोल्न दिनुपर्छ । त्यसपछि नेपाली कांग्रेसले आज प्रचण्ड र माधव नेपाल दुवैलाई बोल्न दिने भयो । भरतपुरमा छोरी उम्मेदवार भएकाले बोल्न पाउनुभएको छ, त्यसैले बधाई छ ।’
एमालेमा अपमान भयो भन्ने माधव नेपालको गठबन्धनमा के भइरहेको छ भनेर ओलीले प्रश्न गरे । ‘यहाँ अपमान भो भनेर हिँडेका माधव नेपाल, समय छैन भने पनि बोलेरै साँझ पारिदिने माधव नेपाल मञ्चमा ठाउँ नभएर तल बस्नुहुन्छ ।’
ओलीले टिकापुर घटनामा हुँदै नभएका ब्यक्तीहरुलाई मुद्धा लगाएको बताए । रेशम चौधरी यहाँ हुनुहुन्थेन उहाँलाई उत्तिकै मुद्धा लगाइयो ओलीले भने “मेरो सरकारका बेला यो समस्या समाधान गर्नका लागी पहल गरेको थिए, हाम्रो गृहमन्त्री थारु नेताहरुकहाँ सम्बादमा हुनुहुन्थ्यो तर सरकार ढालियो हामी सरकारमा आए त्यो समस्या समाधान हुन्छ ।”
यस्तै ओलीले ५ दलिय गठबन्धनले महिलाका अधिकार खोसेको आरोप लगाए । एमालेले महिलालाई प्रार्थमिकता दिइरहँदा गठबन्धनले महिलाका अधिकार खोसेर स्थानिय तहमा प्रमुख, उप प्रमुख दुइटै पदमा पुरुषलाइनै अगाडी सारेको उनले बताए । आउँदो निर्वाचनपछि एमालेको अत्याधिक बहुमतको सरकार बन्ने ओलीको दावी छ ।