धनगढी । सुदूरपश्चिम प्रदेशका चर्चित युवा लेखक जनक रसिकको पहिलो उपन्यास “दोरी” विमोचन गरिएको छ । शुक्रबार धनगढीमा एक कार्यक्रमका बिच रसिकको पहिलो उपन्यास “दोरी” विमोचन गरिएको हो।
सुदुरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थ राज पाण्डेयको अध्यक्षता तथा सुदुर पश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाको प्रमुख आतिथ्यतामा “दोरी” विमोचन गरिएको हो। दोरी उपन्यास मार्फत रसिकले नेपाली साहित्यमा विज्ञान र प्रविधि विषयमा लेखन प्रकाशन खासै नभएको अवस्थामा दोरी उपन्यास मार्फत रसिकले यो विषय सशक्त ढङ्गले प्रवेश गराएका छन् ।उपन्यासमा सुदूरपश्चिमको ग्रामीण क्षेत्रबाट रोजगारीका लागि प्रविधि सम्पन्न देश जापान पुगेका एक अशिक्षित युवकको कथा निकै मार्मिक र कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । विज्ञान प्रविधिको विकास र हाम्रो जीवनस्तरबिचको व्यापक असमानताले के कस्ता समस्या उत्पन्न भइरहेका छन् र यो असमञ्जसता बढ्दै गएमा भविष्यमा कस्ता दुर्घटना हुन सक्छन् भन्ने कुरा उपन्यासले उठाएको मूल मुद्दा हो ।सुदूरपश्चिमको लबज, मिथकको कसिलो प्रयोग गरिएको उपन्यासको कथा सरल सटिक र आकर्षक शैलीमा निर्माण गरिएको छ ।सुदूरपश्चिममा रसिकले विगत दुई दशकदेखि साहित्य सृजनाका साथै पठन संस्कृतिको विकास, परिवर्तित समयमा साहित्यिक माहौल निर्माणमा निरन्तरता दिइरहेका छन् । राष्ट्रिय मूलधारमा सुदूरपश्चिमको बहुआयामिक पहिचान स्थापित गर्न सिर्जनाका विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।साहित्यका बिभिध बिधामा समाज, राजनीति र समसामयिक मुद्दामा समेत निरन्तर कलम चलाइरहेका छन् ।कविता र गजल विधा तथा कथा र निबन्ध लेख्दै आएका छन् । कार्यक्रममा राजनितीज्ञ साहित्यकार कलाकार लगायतको उपस्थीती रहेको थियो ।