कञ्चनपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले भीमदत्त नगरपालिकाबाट महाकाली नदी रोयल्टी ठेक्का सम्बन्धि कागजपत्र नियन्त्रणमा लिएको छ ।
नेकपा (एकीकृत समाजवादी)का प्रदेश कमिटी सदस्य खेम भण्डारीले भीमदत्त नगरपालिका सम्बद्ध अधिकारीहरूलाई तत्काल निलम्बनको माग गर्दै सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।आयोगले सोमबारनै भीमदत्त नगरपालिकाबाट आवश्यक कागजपत्र नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले बताए ।
नेता भण्डारीले महाकाली नदीको रोयल्टी ठेक्कामा राज्य कोषमा ३ करोड ३३ लाख रुपैयाँभन्दा धेरै नोक्सानी पु-याइएको दाबीसहित सोमबार हुलाकमार्फत् आयोगमा उजुरी दिएका थिए । यसअघि भण्डारीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने नाममा भीमदत्त नगरपालिकाले एक करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको उजुरी दिएका थिए । उनको उजुरीपछि अख्तियार कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
उजुरीमा भण्डारीले लेखेका छन् – आर्थिक वर्ष२०७७।०७८ को महाकाली नदी रोयल्टी ठेक्कामा भवानी कन्स्ट्रक्सनले मूअकबाहेक रु। ५,४०,००,०००।– मा ठेक्का कबोल गरेपनि नगरपालिकाले मूअकबाहेक ३,५२,६९,३७२।७० मा मात्रै सम्झौता गरेकोमा सो ठेकेदार कम्पनीले मूअकबाहेक जम्मा रु. २,७६,९७,४१६।९८ मात्र भुक्तान गरेपछि सो कम्पनीको बैंक ग्यारेन्टीसमेत फुकुवा गरेर राज्य कोषमा मूअकबाहेक रु। ३,३३,२२,५८३।– नोक्सानी गरेको देखिन्छ ।
भण्डारीले उजुरीमैं हालसालै कैलालीको मोहन्याल गाउँपालिकामा यस्तै प्रकृतिको नोक्सानी गरिएको खुलासा भएपछि आयोगले संलग्न सबैलाई तत्काल निलम्बन गरेको नजिरलाई आधार मानेर भीमदत्त नगरपालिकामा पनि कारवाही गरिदिन अनुरोध पनि गरेका छन् । यसअघि भण्डारीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने नाममा भीमदत्त नगरपालिकाले एक करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको उजुरी दिएका थिए । उनको उजुरीपछि अख्तियार कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।उजुरी यहाँ हेर्नुहोस 



