कञ्चनपुर। राष्ट्रिय कृषि गणनाका लागि कञ्चनपुरमा ७५ जना गणक र १९ जना सुपरीवेक्षक खटिने भएका छन्। गणक र सुपरीवेक्षकलाई तालिम दिइएको छ। वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म कृषि गणना हुन लागेको हो।
जिल्लाका २ सय १२ स्थानलाई गणना क्षेत्रका रुपमा चयन गरिएको कृषि गणना कार्यालय कञ्चनपुरका प्रमुख गोकर्णदेव न्यौपाने बताए। कृषि गणनाअन्तर्गत कृषक परिवारको संख्या, कृषि चलन, कृषि कामदार, कित्ताको विवरण र सिँचाइ, कित्ताअनुसार भू‒उपयोग, कित्ताअनुसार खेती गरिएका अन्नबाली, कोसेबाली, दलहन, कन्दमुल, तेलबाली, नगदेबाली, मसलाबाली, अन्य तरकारी र फलफूलको विवरण संकलन गरिनेछ।
बीउबिजन विषादी तथा मलखादको प्रयोग, पाल्तु पशुपक्षीको उमेर अनुसारको संख्या, कृषिमा प्रयोग हुने भवन र संरचना, कृषि औजार, पोखरीको विवरण र माछापालनसम्बन्धी जानकारी गणनमा समेटिनेछ। मौरीपालन, च्याउ र फूल खेती, रेशम खेती, कृषि ऋण, बीमा र अनुदान, कृषिमा वातावरणीय प्रभाव, दैवी प्रकोप, खाद्य पर्याप्तता, महिला र पुरूषको नाममा रहेको कृषि जग्गा र परिवारका अन्य आर्थिक क्रियाकलापसम्बन्धी विवरणसमेत गणनामा समावेश गरिएको छ। विसं २०१८ देखि हरेक १०/१० वर्षमा कृषि गणना हुँदै आएको छ। गणनामा सबै घरपरिवारको गणना नभइ स्थानीय तहको प्रतिनिधित्व हुने तथा पूर्ण विवरण आउने गरी तथ्यांकीय विधिबाट छानिएका कृषक घरपरिवारको मात्र पूर्ण गणना हुनेछ।


