धनगढी। कैलालीको धनगढीमा शनिबारदेखि सुरु भएको रात्रिकालीन महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ। धनगढी रंगशालामा भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिका टोलीलाई १–० ले पराजित गरेको हो ।
५९औँ मिनेटमा रेखा पौडेलले गरेको गोल नै पुलिसको जितामा निर्णायक बन्यो। वनदेवी युवा क्लबको आयोजनमा यही वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीयसहित आठ टोलीको सहभागिता छ। विजेताले ट्रफीसहित नगद पाँच लाख र उपविजेताले ट्रफीसहित दुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन्। विभिन्न विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजक क्लबका अध्यक्ष सुशन जोशीले जानकारी दिए। प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ले पाँच हजार पाउनेछन् । यो बेला धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकाले पहिलोपटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो।

