कैलाली। गैरकानूनी रुपमा राजस्व मिनाहा गरेको आरोपमा कैलालीको मोहन्याल गाँउपालिकाका कार्यबाहक अध्यक्षसहित १४ जना जनप्रतिनिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले गाँउपालिकाका दिवगंत अध्यक्ष नवल सिंह रावल, उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष पूजादेवी बुढामगर, वडाध्यक्षहरु देवीदत्ता उपाध्याय, नविन पुन मगर, खरप्रसाद अधिकारी, छविलाल हौजाली मगर, टेकबहादुर बोगटी, टिकाराम भण्डारी र नन्दराम गिरीविरुद्ध मुद्दा दायर गरेको छ । गाउँकार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशाल कुमार पहराइविरुद्ध मुद्दा चलाएको छ। उनीहरुले रोडा, ढुंगा बालुवा संकलनवापत ठेकेदारबाट उठाउनुपर्ने राजस्व मिनाहा गरी ५४ लाख १८ हजार रुपैंया भ्रष्टाचार गरेको अख्तियारले १३ प्रतिशत भ्याट जोडेर विगो कायम गरेको छ।
उनीहरुमाथि सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दोब्बर जरिवानाको मागदावी गरेको छ। आरोपितमध्ये गाउँपालिका अध्यक्ष रावलको निधन भइसकेकाले सजाय र जरिवानाको माग दावी गरेको छैन । तर उनको अंश खाने परिवारका सदस्यहरुबाट विगो बमोजिमको रकम असुल्नुपर्ने मागदावी अख्तियारले गरेको छ। अख्तियारले घरेलु तथा साना उद्योग कार्यालय धनगढी कैलालीमा दर्ता भएको न्यू बडिमालिका निर्माण सेवा र त्यसका सञ्चालक मकर बहादुर शाहविरुद्ध पनि मुद्दा चलाएको छ। सम्झौता अनुसार राजस्व नतिरेको अनि प्रमाणित राजस्व रसिद प्रयोग नगरी नदीजन्य पदार्थ संकलन गरेको गरेको आरोप उनीमाथि छ।
अख्तियारले उनीसँग ५६ लाख विगो मागदावी गरेको छ। गाँउपालिकाका तत्कालीन प्रमुख प्रशाकीय अधिकृत गणेशदत्त ओझाले पहिलो किस्ताबापतको कबोल अंक रकम, ठेकदारबाट शर्तबमोजिम सम्झौताका बखत नगद जम्मा गर्न नलगाएको आरोप लगाएको छ।कार्यसम्पादन जमानत बापत राखिएको रकम फुकुवा गरी आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने मुल्य अभिवृद्धी कर रकम समेत नतिराएर सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको भन्दै अख्तियारले उनीमाथि ५६ लाख रुपैंयाको विगो मागदावी गरेको हो ।मोहन्याल गाउँपालिका भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको विक्री कर संकलनका लागि ठेक्का भएको थियो । गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू बडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमा सम्झौता भएको अख्तियारको दाबी छ ।यस्तो छ प्रेस विज्ञप्ति
मिति २०७९/०१/०२ गते।
मोहन्याल गाउँपालिका, कैलाली भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको विक्रीकर संकलन सम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएकोमा मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू वडिमालिका निर्माण सेवाका ठेकेदारवीच मिलेमतोमा सम्झौता भई भ्रष्टाचार भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मोहन्याल गाउँपालिका कैलालीका तत्कालीन उपाध्यक्ष हाल कार्यबाहक अध्यक्ष पुजादेवी बुढा मगर, वडा नं. २ का वडा अध्यक्ष देवीदत्त उपाध्याय, वडा नं. १ का वडा अध्यक्ष नविन पुन मगर, वडा नं. ७ का वडा अध्यक्ष खर प्रसाद अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष छविलाल हौजाली मगर, वडा नं. ४ का वडा अध्यक्ष टेक वहादुर बोगटी, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम भण्डारी, वडा नं. ३ का वडा अध्यक्ष नन्दराम गिरी, गाउँकार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशाल कुमार पहराईसमेतले गाउँकार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिबृद्धि कर (VAT) बापतको रकम गरी जम्मा रू.५४,१८,५६८।०९ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको देखिएकोले निजहरुले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र दफा १७ बमोजिमको हुँदा सोही ऐनको दफा ७ र दफा १७ मुताविक निजहरूको हकमा बिगो रु.५४,१८,५६८।०९ (चौवन्न लाख अठार हजार पाँचसय अठ्सठ्ठी रुपैयां नौ पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (ज) बमोजिमको सजाय हुन तथा हानिनोक्सानी (चुहावट) भएको राजस्व रकमको सोही ऐनको दफा ७ बमोजिम दोब्बर जरिवाना हुन र सोही ऐनको दफा १७ बमोजिम निजहरुबाट बिगो असुलउपर गरी मोहन्याल गाउँपालिकालाई भराई पाउन समेत मागदाबी लिइएको छ।
साथै घरेलु तथा साना उद्योग कार्यालय धनगढी कैलालीमा दर्ता भएको न्यू वडिमालिका निर्माण सेवा र सोका प्रोप्राइटर मकर बहादुर शाहसमेतले पहिलो किस्ताबापतको कबोल अंक रकम शर्तबमोजिम सम्झौताका बखत जम्मा नगरी सम्झौता गरेको, प्रमाणित राजस्व रसिद प्रयोग नगरी नदीजन्य पदार्थ संकलन गरेको र मिनाहाको माग गरी गाउँकार्यपालिकाबाट निर्णयसमेत गराई मिनाहा गराएको रकम, सोबापतको मुल्य अभिबृद्धि कर (VAT) रकम र गाउँपालिकामा पहिलो किस्ता मानी ढिलो गरी बुझाएको रोयल्टीबापतको रकम, आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने मुल्य अभिबृद्वी कर (VAT) मध्ये नबुझाएको रकम गरी जम्मा रू. ५६,००३४८।६१ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा न्यू वडिमालिका निर्माण सेवा र सोका प्रोप्राईटर मकर बहादुर शाहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिइएको छ।
मोहन्याल गाउँपालिका कैलालीका अध्यक्ष स्वर्गीय नवल सिहं रावलसमेतले गाउँकार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकेदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिबृद्धि कर (VAT) बापतको रकम गरी जम्मा रू.५४,१८,५६८।०९ सार्वजनिक सम्पात्तिको हानिनोक्सानी गरेको देखिएको र निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोमा सोही ऐनको दफा ७ तथा सोही ऐनको दफा ७ र दफा १७ ले उल्लेख गरेबमोजिम निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिमको सजाय हुनुपर्नेमा निजको मृत्यु भएको अनुसन्धानबाट देखिए पनि अपराधीसँगै अपराध मर्दछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्वान्तको रुपमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ को उपदफा (२) र १५८ को उपदफा (२) सहितको कानूनी व्यवस्था बमोजिम निजलाई कैद र सजाय हुन नसक्ने तर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ उपदफा (२) र दफा १५८ उपदफा (२) बमोजिम मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकोले स्व. नवल सिहं रावलको मृत्यु भईसके पनि निजको हकमा प्रचलित कानुनबमोजिम निजको हक खाने अंशियारबाट विगो रू.५४,१८,५६८।०९ असुलउपर हुनाका साथै हानिनोक्सानी भएको सार्वजनिक सम्पत्ति विगो रू.५४,१८,५६८।०९ (चौवन्न लाख अठार हजार पाँच सय अठ्सठ्ठी रुपैयां नौ पैसा) समेत सोही ऐनको दफा १७ बमोजिम असुलउपर गर्ने प्रयोजनका लागि मात्र मागदाबी लिइएको छ।
साथै मोहन्याल गाउँपालिका, कैलालीका तत्कालीन प्रमुख प्रशाकीय अधिकृत गणेशदत्त ओझाले पहिलो किस्ताबापतको कबोल अंक रकम, ठेकेदारबाट शर्तबमोजिम सम्झौताका बखत नगद जम्मा गर्न नलगाई सम्झौता गरेको र दोस्रो र तेस्रो किस्ता बापतको कार्यसम्पादन जमानतबापत राखिएको रकम फुकुवा गरी गाउँकार्यपालिकाबाट निर्णय भई मिनाहा गरिएको रकम, सोबापतको मुल्य अभिबृद्धि कर (VAT) रकम र गाउँपालिकामा पहिलो किस्ताबापतको (रकम नलिई सम्झौता गरेको) मानी ढिलो गरी बुझाएको रोयल्टीबापतको रकम, आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने मुल्य अभिबृद्वी कर (VAT) रकम गरी जम्मा रू.५६,००३४८।६१ (छपन्न लाख तीन सय अठचालीच रुपैयाँ एकसठ्ठी पैसा) सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको देखिएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र दफा १७ बमोजिम कसुर गरेको पुष्टि हुन आएकोमा सोही ऐनको दफा ७ र दफा १७ मुताविक निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १ को देहाय (ज) बमोजिमको सजाय हुन साथै हानिनोक्सानी भएको सार्वजनिक सम्पत्ति बिगो रकम सोही ऐनको दफा ७ बमोजिम दोब्बर जरिवाना र सोही ऐनको दफा १७ बमोजिम निजबाट असुलउपर गरी मोहन्याल गाउँपालिकालाई भराई पाउन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
श्याम प्रसाद भण्डारी

