काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको २२०र१३२ के.भी. नयाँ खिम्ती सबस्टेशनको शनिबार दोलखामा उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ठूला जलाशयुक्त आयोजनाको विकासमा सरकार लागिपर्ने बताएका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बूढीगण्डकी र पश्चिम सेती जलाशयुक्त आयोजना अगाडि बढाउने उल्लेख गरे । कूल एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी र ७५० क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनालाई मूर्त रुप दिने तयारीमा सरकार लागेको बताए ।लामो समयदेखि प्रक्रियामा रहेका ती आयोजनाको ठोस काम अगाडि बढ्न सकेको छैन । ऊर्जा सुरक्षाका लागि ती आयोजना महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो ।
उनले भने–‘जैविक इन्धनबाट विद्युत् निकाल्ने काम बन्द हुने भएकाले जलाशययुक्त आयोजना महत्वपूर्ण छ भन्ने बुझाउन जरुरी छ । पेट्रोल र डिजलबाट हामी मुक्त हुनुपर्छ । बिजुलीबाट नै काम गर्नुपर्छ ।’प्रधानमन्त्री देउवाले अझै पनि झोलामा खोला राखेको र काम नभएको भन्ने आफूले सुनेको भन्दै त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । लामो समयदेखि अगाडि बढ्न नसकेको विद्युत् खरिद सम्झौता ९पीपीए०का सन्दर्भमा पनि प्रधानमन्त्रीले उचित निर्णय लिइने बताए ।
प्रधानमन्त्री देउवाले नेपालको आफ्नै लगानी र मिहिनेतले बनेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले विद्युत् आपूर्तिमा ठूलो योगदान पुर्याएको भन्दै सम्बन्धित कर्मचारी, निर्माण व्यवसायी सबैलाई धन्यवाद दिए ।राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसीले हालसम्म एक अर्ब युनिट बिजुली प्रवाह गरेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असारमा उद्घाटन गरिएको थियो ।

