दार्चुला। भारतले तटबन्ध निर्माण गरिरहेको दार्चुलाको महाकाली नदी क्षेत्रमा पुगेर अनेरास्ववियुले विरोध जनाएको छ।
अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको अनेरास्ववियुको टोलीले दार्चुलाको महाकाली नगरपालिका-४ खलङ्गामा भारतीय पक्षले तटबन्ध निर्माण गरिरहेको क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। भारतले यो क्षेत्रमा २४ फागुनबाट तटबन्ध निर्माण शुरू गरेको छ।
भारतले नेपाली भूमि अतिक्रमण गरेर तटबन्ध निर्माण गरिरहेको जनाउँदै यसको विरोध गर्न दार्चुला पुगेको अध्यक्ष बरालले बताइन्। “हामी भारतीय पक्षसँग नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्तामाथि निरन्तर धावा बोलिरहने विस्तारवादी नीति बन्द गर्न चेतावनी दिन चाहन्छौँ,” उनले भनिन्, “तत्काल सीमा अतिक्रमण र तटबन्ध निर्माण कार्य रोक्न र नेपाल सरकारलाई आवश्यक पहलकदमी लिन माग गर्दछौँ।”
भारतले भूमि अतिक्रमण गरेर तटबन्ध निर्माण गरिरहेको पाइएको जनाउँदै यो कार्य रोक्नका लागि पहल गर्न सरकारलाई आग्रह गरेकी छन्।“दार्चुलामा तटबन्ध निर्माण कार्य हुँदै गर्दा सरकार मूकदर्शक हुन मिल्दैन,” उनले भनिन्। त्यस्तै, स्थानीय प्रशासनले पनि सीमा अतिक्रमण जस्तो विषयमा मानैनता साँधेको उनको आरोप छ।
स्थानीय बासिन्दाले विरोध गरिरहँदा स्थानीय प्रशासनले वास्ता नगरेको उनले बताइन्। अध्यक्ष बरालले भूमि अतिक्रमणको विषयमा तत्काल समाधान खोज्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिन्। उनले प्रश्न गरिन्, “प्रधानमन्त्रीज्यू, लिम्पियाधुरा, लिपुलेक र कालापानी कहिले फिर्ता ल्याउनु हुन्छ ? दार्चुलामा भारतले तटबन्ध निर्माण गर्दा मौन किन ?”जवाफ चाहियो,’ उनको प्रश्न छ ।