धनगढी। ए डिभिजन क्लब फ्रेन्ड्स सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा आइतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २ गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो।
फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईसले दुई गोल गरे। खेलको ५३ औं मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६२ औं मिनेटमा जमोउलले पेनाल्टीमा गोल गर्दै फ्रेन्ड्सलाई २९० को जित दिलाए। अब फ्रेन्ड्सले सेमिफाइनलमा मछिन्द्र र बागमती युथ क्लबबीचको विजेतासँग खेल्नेछ ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।

