कैलाली। कैलालीमा फागुन २८ गतेदेखि चैत १५ गते सम्म हात्तीपाइलेको आम औषधी सेवन अभियान सुरु गरिने भएको छ। हात्तीपाइले विरुद्धको १० औँ चरण अन्तरगत कैलालीमा ८ लाख ६९ हजार ८ सय ६९ जनालाई हात्तीपाइले बिरुद्धको आम औषधी खुवाइने लक्ष्य रहेको लिइएको छ।
सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको कैलाली जिल्ला हात्तिपाइले रोग निवारणको लक्ष्यमा असफल हुदै आएको छ । अन्य जिल्लामा ६ पटकसम्म अनिवार्य औषधी सेवन गरेपछि लक्ष्य हासिल भएपनि कैलालीमा यस बर्ष दशौ पटक हात्तिपाइले निवारणका लागी औषधी खुवाउने अभियान सञ्चालन हुन लागेको छ। जिल्लाको ६५ प्रतिशतले औषधी सेवन गर्नुपर्ने भएपनि ४८ प्रतिशतले मात्रै ५ पटक औषधी सेवन गरेका कारण हात्तिपाइले रोग निवारण कार्यालय सफल नभएको हो।
कैलाली जिल्लामा हात्तिपाइले रोग निवारणका लागी थालिएको आम औषधी सेवन अभियानले लक्ष्य प्राप्त गर्न सकेको छैन । जिल्लामा ६५ प्रतिशतले औषधी सेवन गर्नुपर्ने भएपनि दशौँ चरणमा पुग्दासम्म ४८ प्रतिशतले मात्रै औषधी सेवन गरेका छन्। जिल्लामा लक्ष्य अनुसार औषधी सेवन नभएपछि हात्तिपाइले रोग निवारणमा चुनौती थपिएको छ। औषधी सेवनको लक्ष्य प्राप्त नभएपछि कैलालीमा फागुन २८ गतेबाट औषधी सेवन अभियान सञ्चालन हुन लागेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादूर धामीले जानकारी दिए।
गर्भवती महिला, ७ दिन भित्रका सुत्केरी,२ बर्षमुनीका बालबालिका, सिकिस्त बिरामी बाहेकले हात्तिपाइले बिरुद्धको औषधी सेवन गर्न मिल्ने जनाइएको छ। केही बिरामी भएका कारण लक्ष्यमा पुग्न नसकिएपनि औषधी सेवन नगरेकै कारण लक्ष प्राप्त हुन नसकेको चिकित्सक बताउँछन्। सबैले औषधी सेवन गरे पक्कै यसै बर्ष लक्ष प्राप्त गर्न सकिने सेती प्रादेशिक अस्पतालका फिजिशियन डा.शेर बहादूर कमरको भनाई छ।
आम नागरिकले हात्तिपाइले बिरुद्धको औषधी सेवन नगरेकै कारण कैलाली जिल्लामा हात्तिपाइले रोग निवारण गर्न नसकिएको भन्दै नागरिक अगुवाले सबैलाई औषधी सेवन गर्न आग्रह गरेका छन्। सबै नागरिकले औषधी सेवन गरे मात्रै स्वस्थ बन्न सक्ने भन्दै औषधी सेवनमा सबैको सहभागिताका लागी उनिहरुले आग्रह गरेका छन् । पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले सबै नागरिकले औषधी सेवन गर्नहुने सुझाव दिएका छन् ।सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलालीमा मात्रै यसपाली हात्तिपाइले बिरुद्धको औषधी खुवाइदै छ । हात्तिपाइले बिरुद्धको औषधी सेवनले कुनै समस्या ननिम्त्याउने भन्दै चिकित्सकले सबैलाई औषधी सेवनका लागी अनुरोध गरेका छन् ।


