धनगढी। सुदूरपश्चिममा सन २०२१ मा ७ सय ६ वटा मानवअधिकार उल्लंघनका घटना भएको सार्वजनिक गरिएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गरेको पुस्तकमा उल्लेख गरिए अनुसार प्रदेशमा ७ सय ६ वटा मानवअधिकार उल्लंघनका घटना भएको सार्वजनिक गरिएको हो ।
सुदूरपश्चिम प्रदेशमा राज्य पक्षबाट २१ र अन्य पक्षबाट ६ सय ८५ जना गरी जम्मा ७ सय ६ वटा मानवअधिकार उल्लघनका घटना सार्वजनिक भएका छन्। यो तथ्याङ्क हेर्दा प्रदेशमा मानवअधिकार उल्लघनका घटनामा अझै पनि कमी भने आउन सकेको छैन। यस्तै अवधिसम्ममा २२ जना पुरुष र १२ जना महिला गरी ३४ जनाको हत्या भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ ले देखाएको छ। बाल अधिकार, गिरफ्तारी, अमानवीय व्यवहार, महिला अधिकार, बेपत्ता, जातीय विभेद लगायतका घटनामा उल्लेख्य वृद्धि भएको तथ्यांकसहितको वर्ष पुस्तक सार्वजनिक गरिएको हो।
१९९२ देखी नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको इन्सेकले शनिवार एक कार्यक्रमबीच ३० औँ संस्करण सार्वजनिक गरेको हो। नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को केन्द्रदेखि प्रदेशसम्म एकसाथ सार्वजनिकीकरण कार्यक्रम अनुरूप सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले गरेकी हुन्। सो पुस्तक सार्वजनिक गर्दै इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका संयोजक खडक राज जोशीले ३० औँ संस्करणसम्म आईपुग्दा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन्। यसै क्रममा इन्सेक सुदूरपश्चिमले वर्ष भरी उत्कृष्ट काम गरेको भन्दै इन्सेक अछाम प्रतिनिधिलाई सम्मान गरेको थियो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका संयोजक खडक राज जोशी, राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश संयोजक मोहनदेव जोशी, सुदूरपश्चिम प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्याय, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी लगायतको सहभागिता रहेको थियो ।


