धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले खेलकुदलाई पर्यटन र विकासका रुपमा अगाडि बढाउन सकिने बताएका छन्। धनगढीमा आजदेखि सुरु भएको धनगढी मेयर लिटिल फ्लावर प्रीमियर लिग ६ को उद्घाटन गर्दै मेयर वडले खेलले राष्ट्रलाई चिनाउने, राष्ट्रको विकास र समृद्धिकालागि खेलकुदलाई पर्यटन र विकासका रुपमा अगाडि बढाउन सकिने बताएका हुन्।
विकास र समृद्धिकालागि पनी खेल र खेलाडीको महत्वपूर्ण भूमिका रहने भएकाले उपमहानगरपालिका खेलकुद र खेलाडीको साथमा सधै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।‘कोभिडका कारणले धेरै गतिविधिहरूलाई अगाडि बढाउन नसकेता पनि उपमहानगरपालिकाले विकासमा फड्को मारेको छ,’ ‘ धार्मिक पर्यटन क्षेत्रहरू हामीले प्रशस्त तयार गरेका छौँ, प्रत्येक वडामा खेलकुद ग्राउन्डहरू, बाटोघाटो तयार गरेका छौँ ’मेयर वडले भने ।
यस्तै मेयर वडले स्वास्थ्यका क्षेत्रमा थुर्पै कामहरू गरिसकेको बताउँदै उपमहानगरपालिकाले कोभिडमा तीन वडा पुरस्कार समेत पाइसकेको बताए। अहिले उपमहानरपालिका भित्र खानेपानीको करिब ९ हजार बढी धारा तयार गरिसकेको उनले बताए । ‘पहिले चुनाव गर्दै गर्दा ८ सय धारालाई पनि खानेपानी पुग्ने सम्भावना थिएन,’ मेयर वडले भने, ‘तर अहिले हामीले उपमहानगरपालिका भित्र ९ हजार बढी धारा निर्माण गरी २४ सै घण्टा पानी दिने व्यवस्था गरेका छौँ ।’ यस्तै शिक्षा क्षेत्रमा पनि उपमहानगरपालिकालाई अगाडि बढाएको बताए ।
प्राविधिक हबका रूपमा उपमहानगरपालिकालाई अगाडि बढाउने तयारी गरिरहेको बताउँदै मेयर वडले अहिले ८ वटा प्राविधिक विद्यालयहरू सञ्चालन गरेको बताए । राष्ट्रलाई चिनाउने, राष्ट्रको विकास र समृद्धिका लागि खेलाडीको महत्वपूर्ण भूमिका रहने भएकाले उपमहानगरपालिका खेलकुद र खेलाडीको साथमा सधै रहने प्रतिबद्धता व्यक्त गरे । फागुन १४ गतेसम्म धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा आयोजना हुने एलपीएल–६ आजदेखि सुरु भएको हो । प्रतियोगितामा काठमाडौं, कैलाली र कञ्चनपुरका गरी १० वटा बिद्यालयको सहभागी रहेको आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

