धनगढी। सुदूरपश्चिम प्रदेशसभाका सचिव धामी राजीनामा दिने भएका छन्। नागरिकता र शैक्षिक प्रमाण पत्रमा फरक-फरक जन्म मिति रहेको भेट्टिएपछि विवादित बनेका सुदूरपश्चिम प्रदेश सभाका सचिव राम सिंह धामीले राजीनामा दिने भएका हुन्।
धामीले आफ्नो सेवा समय पनि सकिएको र सार्वजनिक ओहोदामा बसेको व्यक्ति को विषयमा प्रश्न उठीसके पश्चात् राजीनामा दिने बताएका हुन्। प्रदेश सभाका सचिव धामीको नागरिकता र शैक्षिक प्रमाण पत्रमा अस्पष्ट जन्म मिति, प्रदेश सभा सचिवमा नियुक्ति गर्दा पनि उमेर हदबन्दी लाग्न केही महिना मात्रै बाँकी रहेको बेला दिइएको फेला परेको थियो। धामीले वि.सं. २०३३ सालमा नागरिकता लिएको र त्यति बेला नागरिकताको जन्म मितिको ठाउँमा वर्ष लेख्ने चलन अनुसार नै आफ्नो नागरिकतामा सोझै १८ वर्ष लेखेको बताए ।
वि.सं. २०३३ सालमा एस.एल.सी. पास गर्दा परीक्षा नियन्त्रकको कार्यपालाबाट प्राप्त भएको प्रमाण पत्रमापनि वि.सं. २०१६/११/२९ नै उल्लेख गरिएको र सोही आधारमा अन्य कागजातहरूपनि रहेका छन्।यद्धपी आफ्नो बारेमा सार्वजनिक पद धारण गरेको व्यक्तिको बारेमा प्रश्न उठी सकेपछि राजीनामा दिन उचित ठानेर राजीनामा दिने निर्णय लिएको उनले बताए। “अहिले सम्म विभिन्न कार्यालय र पदमा बसेर मैले देश र जनताको सेवा गरेको छु। अन्यमा आफ्नै प्रदेशको सेवा गरौँ भनेर प्रदेश सभा सचिवको जिम्मेवारी सम्म आइपुगेको हुँ यद्धपी मेरा बारेमा विभिन्न समाचार र प्रश्नहरू उठी सकेपछि राजीनामा दिनु नै उचित सम्झेर केही बेरमा प्रदेश प्रमुख कहाँ गएर राजीनामा स्वीकृत गराउँछु।” धामीले भने। यद्धपी धामीलाई प्रदेश सभा सचिव पदमा नियुक्ति गरिएको मितिले उनको शैक्षिक प्रमाण पत्रमा उल्लेख गरिएको मिति नै मान्ने हो भने पनि करिब ८ महिनामै ६० वर्ष पुगेको र ६० वर्षमा सचिवले अनिवार्य अवकाश लिनुपर्ने भए पनि आज सम्म पदमै रहेको कारण पनि धामी राजीनामा दिन लागेका हुन्।


