धनगढी। बिहीवार देखी परेको हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको जनजिवन प्रभाबित बनेको छ। लगातारको हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन्।
बिहीबार दिउँसोदेखि बन्द रहेका राजमार्ग बन्द हुँदा यात्रु अलपत्र परेका छन्। काठमाडौं, धनगढी, महेन्द्रनगरबाट आएका र दार्चुला, बैतडीबाट छुटेका यातायातका साधनबीच बाटोमै रोकिएका छन्। यता कैलालीको अत्तरियादेखि डडेल्धुरा जोड्ने राजमार्ग हिमपातका कारण ठाउँठाउँमा अवरुद्ध भएको छ। सडकमै हिउ जमेपछि ठाउँठाउँमा राजमार्ग अवरुद्ध भएको राजमार्ग अन्तर्गतको हगुल्टेबाट दीपकबहादुर खड्काले जानकारी दिए।
‘हगुल्टे लेक क्षेत्रमा सडकमै हिउ जमेपछि धेरै ठाउँमा राजमार्ग अवरुद्ध भएको छ,’ उनले भने, ‘अहिले कैलालीबाट हिउ हटाउन एउटा डोजर पुगेको छ। डोटीबाट अर्को डोजर आइरहेको जानकारी छ।’ यता बझाङको राजमार्गबारे भने जानकारी नआएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै बैतडीमा भने सवारी साधन सन्चालनमा आएको प्रहरीले जानकारी दिएको छ। हिमपातका कारण अवरुद्ध दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलाएको छ।
सेनाले हिउँ पन्छाएपछि बिहीबारदेखि अवरुद्ध सतबाँझ–गोठलापानी खडकखण्ड शुक्रबार मध्याह्नपछि खुलेको हो। उक्त सडकखण्डको हिउँ पन्छाउन हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको नेतृत्वमा ६० जना नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो।हिउँ पर्ने क्रम नरोकिएकाले सञ्चालनमा आएको दशरथचन्द राजमार्ग अझै अवरुद्ध हुने सम्भावना रहेको छ। राजमार्ग खुलाउन बिहानैदेखि सेनाको टोली खटिएको र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि हिउँ पन्छाउन पुगेको थियो।
सतबाँझ–गोठलापानी सडकखण्ड सञ्चालनमा आए पनि यहाँका अन्य राजमार्ग अझै अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।यहाँको अनारखोली, खोडपे क्षेत्रमा परेको हिउँले दशरथचन्द राजमार्ग, सतबाँझ, धरमघर क्षेत्रको हिउँले महाकाली राजमार्ग र श्रीभावर, ढोल्यामोड क्षेत्रको हिउँको जयपुथ्वी राजमार्गको यातायात सेवा अझै ठप्प रहेको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार हिमपातका कारण भीमदत्त राजमार्गसंगै दार्चुलाको महाकाली राजमार्ग र अछाम जोड्ने राजमार्ग चौखुट्टेमा अवरुद्ध भएका छन्। यस्तै बाजुराको यातायात सम्पर्क नै टुटेको प्रहरीले जनाएको छ।


