कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ वसन्तपुरस्थित महाकाली माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि स्कुल वस सञ्चालन गर्ने भएको छ । महाकाली माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई सहज रुपमा विद्यालयसम्म ल्याउन बस सञ्चालन गर्न लागेको जनाएको छ।
स्कुल वस सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिले र विद्यालय प्रशासन आन्तरिक तयारीमा लागेका छन् । महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश बहादुर कुँवरले भने कोरोनाले गत वर्ष सकेनौ, आगमी शैक्षिक सत्रमा जसरी पनि स्कुल बस सञ्चालन गर्छौ’ ,‘विद्यालयलाई सबैको रोजाईको बनाउँछौ उनले भने।’ गत शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियानका क्रममा भौगोलिक दुरीका कारण पनि विद्यार्थी विद्यालयसम्म आउन नसकेको देखिएपछि स्कुल वस सञ्चालन गर्ने सोच बनाइएको उनको भनाई छ ।
विद्यार्थीलाई घरबाट ल्याउने छौ, गत वर्ष घरसम्म जाँदा टाढा भएको कुरा आएकाले त्यसलाई मध्यनजर गरी स्कुल वस सञ्चालन गर्ने सोच बनाएको जानकारी दिए । विद्यालयलाई बालबालिकाको पहिलो रोजाईको बनाउन दिर्घकालिन सोच, लक्ष्य र उद्देश्य सहित संकल्प पारित गरी विद्यालयलाई नमूना बनाउने कार्यक्रम अघि बढेको छ । विद्यालयले केही दिन अघि पारित गरेको संकल्पमा विद्यार्थीलाई घरबाट ल्याउने, विद्यालयमा टिकाउने र बजारमा बिकाउने लक्ष्य राखेको छ । विद्यालयलमा शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासलाई प्राथमिक दिएर कार्यक्रम अघि बढेका छन् । विद्यालय स्थानीय, प्रदेश र संघ सरकारसित सहकार्य गरी पूर्वाधार निर्माण गरिएका छन् ।अंग्रेजी माध्यममा पठनपाठन, शिक्षक कर्मचारीलाई प्रोत्साहन भत्ता, मन्टेश्वरी कक्षा व्यवस्थापन लगायतका कार्यक्रम छनौट गरिएका छन्।
विद्यालयका प्रधानाध्यापक कुँबरले मन्टेश्वरी पढ्ने विद्यार्थीलाई खाना नास्ता दिएको बताए। ‘निजी स्कुलमा २५ सय तीन हजार फिस तिरेर बच्चा पढि रहेका छन्’ उनले भने,‘हामीले मन्टेश्वरीका बालबालिकालाई खाना र नास्ता दिएका छौ, अझै यसलाई व्यवस्थित गरि रहेका छौ ।’ आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ५ र ९ मा अंग्रेजी माध्यममा पठनपाठन गरिने प्रधानाध्यापक कुँबरले बताए । पाँच दशक अघि स्थापना गरिएको विद्यालयलाई दुई वर्ष अघि नमूना घोषणा गरिएको थियो । विद्यालय नमूना घोषणा गरिएको वर्ष प्राविधिक धारतर्फ वन विज्ञान विषय पढाउन थालिएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिन प्रसाद दहितले विद्यालयलाई सरकारी घोषणा अनुसार नमूना बनाएर छाड्ने बताए । झण्डै ६ सय विद्यार्थी अध्ययनरत विद्यालयमा ३५ जना शिक्षक कर्मचारी कार्यरत छन् ।


