अछाम। सुदूरपश्चिम प्रदेश सरकारले अछामका सात वटा रणनीतिक सडक निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७८र०७९ बाट सुरुवात गरेर आर्थिक वर्ष २०८०/०८१ मा कालोपत्र गर्ने गरी सडक निर्माण कार्य सुरुवात गरिएको हो ।
चिसापानी जंगलघाट ऋषिदह बडिमालिका सडक (गैरिटाँड कालागाउँ दर्ना) साँफेबगर नन्देगडा मेल्लेख शोडषा ऋषिदह सडक, मंगलसैन जुपु लुगाडा रामारोशन सडक, चौखुट्टे चौरपाटी सडक, विनायक लयाँटी पुल्लेतोला रामारोशन सडक, साँफे बुढाकोट सडक र बल्देखोला सडकपुल रामारोशनमा सडक निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
तीन वर्षभित्र सम्पन्न हुने गरी निर्माण गरिने उक्त सडकका लागि १ अर्ब ७ करोड २९ लाख प्रस्ताव गरिएको छ । चालु आर्थिक वर्षको पहिलो चरणमा २ करोड ७२ लाख वजेट विनियोजित गरिएको छ । चालु आर्थिक वर्षमा उक्त ७ वटा सडकको लागि थप रकमको व्यवस्था गरिने सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री मिना साउँदले जानकारी दिइन् । चालु आर्थिक वर्षमा ७ करोड ७० लाख बजेट थप हुनेछ ।
आगामी आर्थिक वर्ष २०७९र०८० मा ५२ करोड ३७ लाख रुपैयाँ र आर्थिक वर्ष २०८०र८१ मा ४३ करोड ५९ लाख ९३ हजार गरी सात वटा सडकको लागि १ अर्ब ७ करोड २९ लाख प्रस्ताव गरिएको राज्यमन्त्री साउँदको भनाइ छ ।चिसापानी जंगलघाट ऋषिदह बडिमालिका सडक (गैरिटाँड कालागाउँ दर्ना) सडकको लागि २० करोड, साँफेबगर नन्देगडा मेल्लेख शोडषा ऋषिदह सडकको लागि १५ करोड, मंगलसैन जुपु लुगाडा रामारोशन सडकको लागि १५ करोड, चौखुट्टे चौरपाटी सडकमा १५ करोड, विनायक लयाँटी पुल्लेतोला रामारोशन सडकको लागि २० करोड, साँफे बुढाकोट सडकको लागि १७ करोड र बल्देखोला सडकपुल रामारोशनमा सडकको लागि ५ करोड २९ लाख प्रस्ताव गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।


