कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ क्षेत्रमा क्यामेरा जडान गरिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितुवा गाउमा आएर घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि क्यामेरा जडान गरिएको छ।
शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ को कार्यालयले क्यामेरा जडान गरेको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकका बस्तीमा केही दिनयता चितुवाले आतंक मच्चाएको छ। भीमदत्त नगरपालिका, शुक्लाफाँटा र बेलडाँडी गाउँपालिकामा चितुवाले किसानका गाई र बाख्रा खाइरहेको छ। भीमदत्त नगरपालिकाको मजगाउँ खोलामा राती चितुवा देखिन थालेको प्रत्यक्षदर्शीले बताएका छन् । मजगाउ खोला नजिक श्रीराम मध्यवर्ती सामुदायिक वन क्षेत्र रहेको छ।
चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रासमा छन् । सामुदायिक वन निकै घना छ । भित्र चितुवा लुकेको हुनसक्ने भन्दै स्थानीय उपभोक्ताले वन क्षेत्रमा रहेको झाडी फाड्ने अनुमतिका लागि राष्ट्रिय निकुञ्जमा निबेदन दिएका छन्।यसैगरी शुक्लाफाँटा नगरपालिका–१ र २ को सिमाना बन्साहमा पनि केहीदिन यता चितुवाले बाख्रा खाइरहेको छ । चितुवालाई नियन्त्रणमा लिन निकुञ्ज कार्यालयले क्यामेरा जडान गरेको छ । चितुवा हिन्ने बाटो पहिचान गर्नका लागि निकुञ्जले क्यामेरा जडान गरेको जनाएको छ ।

