धनगढी। धनगढी उपमहानगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ। उपमहानगरले मंगलबार एक सूचना जारी गर्दै केही कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको र केहीमा लक्षण देखापरेकोले सेवा बन्द गरिएको जनाएको छ।
केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र केहीमा पनि मिल्दोजुल्दो लक्षण देखिएकाले १२ देखि माघ १८ गतेसम्म सेवा स्थगन गर्न लागेको सो कार्यालयले जानकारी दिएको छ।कार्यालयबाटै कोभिड सङ्क्रमण फैलिने डर रहेकाले स्वास्थ्य, सरसफाई, एम्बुलेन्स, दमकलबाहेक सबै सेवा स्थगन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए । यस्तै, कैलालीको गौरीगंगा नगरपालिकाले अत्यावश्यक र आन्तरिकबाहेक सबै कामकाज स्थगित गर्ने निर्णय गरेको छ ।
नियमित कार्य सम्पादनको क्रममा कर्मचारी, जनप्रतिनिधिमा कोरोना संक्रमण भएकाले भोलि बुधबारदेखि सेवा स्थगन गर्न लागेको दुवै स्थानीय तहद्वारा विज्ञप्ती जारी गरी जनाइएको छ । सो नगरपालिकाको अधिकांश कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुञ्जलेसम्मका लागि भोलि बुधबारदेखि सेवा स्थगित गर्न लागेको हो । सेवा बन्द गरिएको अवधिभरि नगरपालिका र वडा कार्यालयहरुको आन्तरिक व्यवस्थापन र अत्यावश्यक कार्यमात्रै हुने प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए ।