कैलाली। कैलालीमा स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) जागिरबाट बर्खास्तीमा परेका छन्।
रक्सी खाएर हतियारसहित ब्यारेकबाट निस्किएका मेजर अशोक शाहीलाई सैनिक अदालतले बर्खास्त गर्ने फैसला गरेको हो। कात्तिक २१ गते चिसापानीको होटल संगममा शाही र होटलसञ्चालक तथा त्यहाँ रक्सी खाइरहेका युवाबीच झगडा भएको थियो।
सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सेनाको कोर्ट मार्सलले उनलाई बर्खास्त गर्दै एक महिना कैद सजाय हुने फैसला गरेको हो।मेजर शाही गत पुस २८ गते कैद भुक्तान गरेर रिहासमेत भइसकेका छन् तर नेपाली सेनाले अहिलेसम्म पनि यो फैसला गुपचुपु राखेको छ। सैनिक उच्च स्रोतका सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले गत पुस ३ गते मेजर शाहीलाई दोषी ठहर गर्दै सेवाबाट हटाउने फैसला गरेको थियो।
सुरुमा ग्राहकसँग झगडा गरेका शाही पछि ब्यारेक फर्किएर हतियारसहित पुनः विवाद गर्न पुगेका थिए। शाही सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत थिए। उनलाई सैनिक आचरण विपरित काम गरेको ठहर गर्दै सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
रातको ११ बजे संगम होटलमा पुगेका मेजरले पछि ब्यारेक फर्किएर गेटमा ड्युटी गरिरहेका सैनिकलाई समेत हतियारसहित लिएर गएका थिए। उनी पुनः होटलमा पुगेपछि घटना थप चर्किएको थियो।त्यसक्रममा मेजर शाहीको टाउको फुटेको थियो। उनको गाडी समेत तोडफोड भएको थियो। उक्त घटनाको अनुसन्धानका लागि एक सहायक रथीको संयोजकत्वमा सैनिक जनरल गठन गरी नेपाली सेनाले कोर्ट मार्सल गरेको थियो।
यस्तो छ घटना:
भाइटीकाको भोलिपल्ट अर्थात् कार्तिक २१ गते। कैलाली लम्कीचुहास्थित रुद्रध्वज गणको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा कार्यरत मेजर शाहीलाई भेट्न उनको परिवार ब्यारेकमै आइपुगेको थियो। रातको करिब १० बजेतिर श्रीमती र छोरासँगै ‘डिनर’ गरेका थिए शाहीले। ‘कोर्ट अफ इन्क्वायरी’लाई दिएको बयानअनुसार त्यही क्रममा थोरै भोड्का पनि पिएका थिए उनले। भोलिपल्ट बिहानै परिवारलाई महेन्द्रनगरस्थित घर पठाउनु थियो।
त्यसैले परिवारलाई गाडीको व्यवस्था गर्न निजी कार चढेर सोही रात मेजर शाही चिसापानी बजार पुगेका थिए। गणमा कार्यरत सिपाही एकेन्द्र शिरिष र प्यूठ भीमसेन रिमाललाई पनि उनले साथमै लिएर गएका थिए।गाडी व्यवस्थापनका लागि शाहीले चिसापानीस्थित लुक होटलका सञ्चालकलाई दिउँसै फोनमा आग्रह गरेका थिए। ‘गाडी प्याक छ, तैपनि म प्रयास गर्छु’ भन्ने जवाफ आएपछि उनी ढुक्क थिए। तर, साँझ सञ्चालकको फोन नलागेपछि भेटेरै ‘कन्फर्म’ गर्ने भनेर राति चिसापानीतिर लागेका थिए उनी।
तर, जब उनी होटलको रोड साइडतिर पुगे, समय घर्किसकेको थियो। सटरहरु बन्द थिए। पुग्नुपर्ने लुक होटल थियो, तर पछाडिबाट पनि बाटो छ कि भनी खोज्दै जाँदा झुक्किएर अर्कै होटल पुगे- संगम होटल। होटलभित्र पुग्दा चार जना मदिरा सेवन गरिरहेका थिए। मेजर शाहीलाई देखेपछि कसैले चर्को स्वरमा सोध्यो- ‘को हो यो आउने?’ सेनाका मेजर न परे, उनले पनि चर्कै स्वरमा प्रश्नात्मक जवाफ दिए, ‘यो लुक होटल होइन र? साहु कहाँ हुनुहुन्छ?’त्यही क्रममा मदिराको तालमा रहेका साहु हर्कबहादुर रावल र मेजरबीच भनाभन सुरु भयो। हल्ला छरछिमेकसम्म पुग्यो। होटलभित्र रहेका चारमध्ये धीरज शाही र लव शाहीले मेजरलाई चिन्थे। उनीहरुले नै शाहीलाई गेटसम्म पुर्याएर होटलको सटर बन्द गरे। यतिबेलासम्म मेजर शाहीले कुनै लफडा नहोस् भनेर आफूसँग गएका दुवै सैनिकलाई पालैपालो प्रहरी बोलाउन नजिककै प्रहरी कार्यलय पठाएका थिए।
प्रहरी नआइपुगेपछि मेजर शाही आफ्नै गाडीमा शिक्षालयको गेटसम्म पुगे। त्यहाँ ड्युटी गरिरहेका हुद्दा तीर्थबहादुर बडुवाललाई गाडीमा बसाएर पुनः चिसापानी फर्किए। चिसापानी र उक्त ब्यारेक करिब एक किलोमिटरको दूरीमा छ। चाडपर्वको समय थियो। चिसापानी, लम्की आसपास हातहतियारसम्बन्धी घटना बढी नै हुने गरेका थिए। रातको साढे ११ बजिसकेको थियो। आफूले लिएर आएका दुवै सैनिक प्रहरी कार्यालयबाट नफर्किएपछि मेजर शाहीले आफूलाई असुरक्षित महसुस गरे। र, त्यही कारण गेटमा हतियारसहित ड्युटी गरिरहेका हुद्दालाई आफूसँग लिएर आएको बयान दिएका छन्। प्रहरी स्रोतका अनुसार त्यतिबेला जब शाही पुनः चिसापनी पुगे, स्थानीयको एक हुल त्यहाँ जम्मा भइसकेको थियो। उनको गाडी देख्नासाथ स्थानीयले तोडफोड सुरु गरिहाले। त्यतिबेला स्थानीयको आरोप अनुसार मेजर शाहीले हुद्दाले बोकेको राइफल खोसेर ताकेका थिए। तर, मेजर शाहीले कोर्ट आफ इन्क्वायरीसँगको बयानमा त्यो स्वीकारेका छन्।
त्यसपछि शाहीलाई प्रहरीले जोगाएको भन्दै स्थानीयहरू प्रहरी कार्यालय नै पुगेका थिए, तोडफोड गर्न। मेजर शाहीले छानबिन टोलीलाई दिएको बयानमा आफू प्रहरी कार्यालय जाँदै गर्दा स्थानीयले ढुंगा प्रहार गरेकाले आफ्नो टाउको फुटेको बताएका छन्। त्यसपछि टाउकोमा उनले १६ टाँका नै लाउनु परेको छ। त्यति मात्रै होइन, आक्रमणको क्रममा आफ्नो घाटीमा भएको सिक्री समेत हराएको मेजर शाहीको आरोप थियो।तर, मेजर शाहीको उपचारदेखि गाडी र सिक्री, केहीको क्षतिपूर्ति होटल सञ्चालक हर्कबहादुर रावलले व्यहोरेनन्। इलाका प्रहरी कार्यलय लम्कीमा दुवै पक्षबीच एक अर्काप्रति उजुरबाजुर नगर्ने लिखित सहमति नै भयो। तर, सैनिक मुख्यालय मौन रहेन। मुख्यालयले मेजर शाहीविरुद्ध महासेनानी इन्दिबर विष्टको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी नै गठन गरेर उनीमाथि छानबिन थाल्यो।