धनगढी। कैलालीको टीकापुरमा निर्माण सम्पन्न भएको घण्टाघरको निर्माणको काम सम्पन्न भएपनि हस्तान्तरण गर्न ढिलाई भएको छ।
सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले कैलालीको टीकापुर नगरपालिका–१ मा ३ करोड २६ लाख ४२ हजार ३६६ रुपैयाँको लगानीमा घण्टाघर निर्माण गरिएको हो। तर पर्यटक आकर्षित गर्न घण्टाघर बनाइएको घण्टाघर निर्माण सम्पन्न भएको ३/४ महिना बितीसक्दा नगरपालिकालाई हस्तान्तरण गर्न ढिलाई गरिएको हो।घण्टाघरको निर्माणको काम सम्पन्न भएपनि नगरपालिकालाई हस्तान्तरण गर्न ढिलाई कारण आर्थिक आम्दानी लिन नसकिएको जनाइएको छ। घण्टाघरलाई भ्यु टावरका रूपमा पनि प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ । घण्टाघरबाट टीकापुरको अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । २६ मिटर उचाइ रहेको यो घण्टाघरबाट टीकापुर क्षेत्रको अवलोकन गर्ने सकिने भनिएको छ । घण्टाघरको उचाइ भने कम रहेको स्थानीयको गुनासो छ। घण्टाघर नजिकै घर भएकी स्थानीय निर्मला कडायतले खानेपानी ट्यांकीभन्दा पनि कम उचाइको रहेकाले टीकापुर अवलोकन सम्भव नभएको बताइन् ।
उनले भनिन्, ‘घण्टाघरमाथि चढेर वरिपरिका केही घर मात्र हेर्न सकिन्छ । दुई तीन तला अरू अग्लो भएको भए राम्रो हुन्थ्यो ।’ सहरी विकास कार्यालय धनगढीका सूचना अधिकारी झंकर थापाले घण्टाघरको डिजाइनअनुसार नै बनाइएको बताए । उनले भने, ‘टीकापुरमा धेरै अग्ला घर छैनन् । भ्यु टावरबाट मजाले टीकापुर हेर्न सकिन्छ जस्तो लाग्छ ।’ पहिलो चरणमा भ्यु टावर र घडीको व्यवस्था गरिएको उल्लेख गर्दै उनले दोस्रो चरणमा स्विमिङ पुल बनाउने योजना भएको बताए । ‘क्यान्टिन हुन्छ, पर्यटकका लागि रिफ्रेस हुने स्थान हुनेछ । नगरपालिकालाई आम्दानीको स्रोत बन्छ,’ उनले भने ।
घण्टाघरमा राखिएको घडी पनि निकै सानो भएकाले समय हेर्न पनि गेटमै जानुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । स्थानीय निर्मला कठायतले भनिन्, ‘भित्तेघडीजस्तो देखिन्छ । घडीको साइज पनि अलि ठूलो भएको भए समय हेर्न पनि सजिलो हुने र अलि आकर्षक पनि हुन्थ्यो ।’ कतिपय स्थानीयले सामाजिक सञ्जालमा पनि घडीको साइज सानो भएको गुनासो गरेको सूचना अधिकारी थापाले बताए । ‘एक मिटर डायमिटरको घडीको साइज हो । यो विषयमा नगरपालिकासित छलफल गरेर घडी फेर्न सकिन्छ तर फेरि अर्को इस्टिमेट बनाउनुपर्छ,’ उनले भने । घण्टाघर उक्लिन सिँढी बनाइएको छ । ज्येष्ठ नागरिक र अपांगता भएका र अशक्तका लागि लिप्ट भइदिए राम्रो हुने स्थानीय बताउँछन् ।